डिआईजी दरवन्दी थप गर्ने प्रस्तावमा वालवाटार तगारो
नेपाल प्रहरीको संगठनात्मक स्वरुप निर्धारण (ओएनएम) अनुसार डिआईजी दरवन्दि थप गर्ने प्रस्ताव दुई महिनादेखि मन्त्रिपरिषदमा अड्किएको छ । गृह मन्त्रालयले प्रस्ताव पठाएपनि कुनै निर्णय भएको छैन।
दरबन्दी थप भएपछि एसएसपीको बढुवा गर्ने प्रहरी प्रधान कार्यालय, नक्सालको योजना पनि ओएनएम सम्बन्धी प्रस्ताव अड्किएकै कारण रोकिएको छ। त्यसैले हाल खाली रहेको तीन वटा दरबन्दीमा मात्रै बढुवा गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।
डीआईजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरज शाही एआईजीमा बढुवा भएपछि तीन वटा डीआईजीका पद खाली थिए । थपिने दरबन्दीका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा छन् ।
यसैगरी, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको आकांक्षी हुन् ।
प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।
मुख्य सचिव शंकरदास बैरागीले प्रस्ताव अध्ययन गर्न चाहेको र उनलाई कोरोना संक्रमण भएर आइसोलेसनमा बस्नुपरेकाले निर्णयमा ढिलाइ भएको प्रहरी श्रोतले जनाएको छ ।
गृह स्रोतले भने ओएनएम सम्बन्धी प्रस्ताव उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको प्रशासनिक समितिमा रहेको छ । श्रोतका अनुसार जुनसकुनै वहाना देखाईएपनि प्रस्तावका पक्षमा बालुवाटार सकारात्मक नभएकाले अड्किएको श्रोतको दावी छ ।