वोक्सिको आरोपमा आफनै आमाको हत्या
सिरहामा वोक्सि लागेको भन्दै आफनै छोराले आमाको हत्या गरेका छन् ।
कर्जन्हा नगरपालिका ३ निवासी ८५ वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा ४७ वर्षिय रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरेका हुन् ।
केही दिन अगाडि रामअवतारकी श्रीमती मनिषाको खुट्टामा घाउ भएको थियो । घाउ लामो समयसम्म निको नभएपछि आमाले नै बोक्सी लगाएर घाउ बनाएको आरोप लगाउँदै उनले गत वुधवार सुदामादेवीलाई कुटपिट गरेका थिए ।
दुई छोराहरु छुट्टिएर वसेपछि सुदामा एक्लै वस्दै आएकी थिईन । कान्छो छोरा रामअवतारको कुटाइबाट सुदामा घाइते भइन् ।
तत्कालै उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । डाक्टरहरुले उनको घाँटीको हड्डी नै बाँगिएको र यो उमेरमा उपचार हुन नसक्ने भन्दै दुई दिनपछि घर फर्काइदिएका थिए ।
शनिबार उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिरहा जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घट्नाको जानकारीपछि रामअवतारलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो अपराध स्वीकार गरिसकेकाले कर्तब्य ज्यान मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।