News

प्रधानमन्त्री ओलीको उपस्थितीमै नेकपा सचिवालय बैठक शुरु

प्रधानमन्त्री ओलीको उपस्थितीमै नेकपा सचिवालय बैठक शुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकका लागि १५ मिनेट अगाडि नै बालुवाटार पुगेका थिए । वैठकमा गत शुक्रबार प्रचण्डको प्रस्तावको जवाफ ओलीले दिने तयारी गरेका छन् । तर, त्यसका लागि केही दिनको समय ओलीले माग्ने तयारी छ। समय मागेर वैठक स्थगन गर्ने उदेश्यले नै मन्त्री परिषदको वैठक २ वजे वोलाईएको छ ।

प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म आजको बैठक सार्न  खोजेका थिए।  तर बहुमत सचिवालय सदस्यले बैठक गर्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।

यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकले स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय गरेको थियो।

सचिवालय बैठकमा एकतर्फी रूपमा प्रचण्डले प्रतिवेदन पेश गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित बनेका थिए। यसअघि ओलीले प्रचण्डले राखेको प्रतिवेदनको जवाफ नदिने वताउँदै आएका थिए ।

सचिवालय बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

विशेष