News

भारदह अस्पतालमा ५० वेडको सेवा दिन पुर्वाधार निर्माण थालियो

भारदह अस्पतालमा ५० वेडको सेवा दिन पुर्वाधार निर्माण थालियो

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदह अस्पताललाई ५० वेडमा सञ्चालन गर्न भवन निर्माण कार्य सुरु भएको छ । 

१५ वेडको स्विकृती प्राप्त भारदह अस्पतालले हाल २० वेडको सुविधा प्रदान गरिरहेको छ । प्रदेश २ सरकारले उक्त अस्पताललाई ५० वेडको वनाउने योजना वनाएको छ । सोहि योजना अन्तर्गत वुधवार इमर्जेन्सी र ल्याव भवनको शिलान्यास गरिएको हो ।

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले भवनको सिलान्यास गरेका हुन् । भवन निर्माणको कुल लागत १ करोड १४ लाख रुपैयाँ रहेको अस्पतालका हेल्थ असिस्टेन्ट धर्मेन्द्र खड्गाले जानकारी दिए ।

भवन निर्माणको ठेक्का धन्दा कन्ट्रक्सनले पाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म भवन निर्माण गरिसक्ने सम्झौतामा उल्लेख छ। 

५० वेडको आकस्मिक कक्ष निर्माणको लागि अस्पतालको कुल साढे तीन बिघा जग्गामध्ये ४ हजार ९ सय स्क्वायर मिटर जग्गा तयार गरिएको खड्गाको भनाई छ ।

०६५ सालमा सप्तकोसी नदीको पूर्व तटबन्ध कटान भएपछि छाप्रोमा बसेका कोसी बाढी पीडित परिवारलाई लक्षित गरी स्थानीय उपस्वास्थ्य चौकीको पूर्वाधारमा अस्थायी अस्पताल सञ्चालनमा ल्याएको थियो । बाढी पीडित पुनर्स्थापनासँगै सरकारले हटाउने तयारी अस्पताललाई स्थानीयवासीको आग्रहमा निरन्तरता दिईएको हो ।

सप्तकोसी बाँध निर्माणका वेला पनि परियोजनामा कार्यरत कर्मचारीहरुको स्वास्थ्य उपचारको लागि सोही स्थानमा अस्थायी अस्पताल र विद्यालय पनि निर्माण गरिएको स्थानीय राजु शर्माले जानकारी दिए । 

अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपछि पूर्वपश्चिम राजमार्गका सवारी दुर्घटनासहित भारदह, हनुमाननगर, पोर्ताहा, मधवापुर, सकरदही, बलुवा, कोशी ब्यारेज, भण्टाबारी, हरिपुर तथा भारत बिहारको विरपुर, भीमननगर, करजाइन, रत्नपुरा लगायतकावासी स्वास्थ्य सेवा पाउने उनले जानकारी दिए ।

विशेष