अलिक बढी नै समस्या आयो, तर संकट समाधान गर्नै नसकिने गरी होईनः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पार्टीमा अहिले अलिक बढी नै समस्या आए पनि संकट समाधान गर्नै नसकिने चाहिँ नभएको वताएका छन् ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटमा उनले यस्तो वताएका हुन् ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पानी वारावरको अवस्थामा पनि दाहालले पार्टी एकताको डोरी चुँडिइ नसकेको बताएका थिए । आफू एकताको डोरी जोगाउन तयार रहेको उनको भनाई छ ।
नेम्वाङले भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयकै जगमा दुवै अध्यक्ष उभिनुपर्ने बताएका थिए । निकै लामो भूमिका सहित नेम्वाङले प्रचण्डसँग सहमतिका लागि तयार रहन आग्रह गरेको स्रोतले जनाएको छ ।
संसदीय र स्थानीय निर्वाचन नजिक आइरहेको र विभाजित भएर जनतासम्म जान नसकिने भन्दै उनले संकट समाधानका लागि तयार रहन आग्रह गरेका थिए ।
प्रचण्डले यसअघि शुक्रबार नै महासचिव विष्णुप्रसाद पौडेलसँग पनि धुम्वाराहीमै भेटवार्ता गरेका थिए । पौडेलले पनि अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादमार्फत् पार्टी विवाद हल गर्ने भूमिका खेल्न प्रचण्डसँग आग्रह गरेका थिए ।
कात्तिक २५ मा केहीबेर कुराकानी गरेका ओली–प्रचण्डबीच त्यस यता वोलचाल वन्द छ। कात्तिक २८ र मंसिर ३ मा सचिवालय बैठकमा भेट भएपनि अनौपचारिक भेटवार्ता रोकिएका कारण ‘वान टु वान’ वार्ता हुन सकेको छैन ।