News

कोरोनाको खोप : नेपालले तत्कालै पाउने जनसंख्याको २० प्रतिशत

कोरोनाको खोप : नेपालले तत्कालै पाउने जनसंख्याको २० प्रतिशत

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २२० देशका ५ करोड ५९ लाख २८ हजार ३०७  जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ४४ हजारभन्दा वढिको मृत्यु भइसकेको छ । 

चीनको वुहानमा गत डिसेम्बरको अन्तिममा पहिलोपटक देखिएको यो संक्रमण ११ महिना बित्दा पनि नियन्त्रणमा आएको छैन । हाल विश्व नै खोपको प्रतीक्षामा छ ।

पछिल्लो समय दुई कम्पनीले आफूहरुले विकास गरेको खोप निकै प्रभावकारी बनेको दाबी गरेका छन् । ‘फाइजर र बायो एन टेक’ ले विकास गरेको खोपको प्रारम्भिक परीक्षणमा ९५ प्रतिशत सफल मानिएको छ । मोडर्ना कम्पनीले बनाएको खोपले भने ९५ प्रतिशत संक्रमण रोक्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘फाइजर र बायो एन टेक’ यी दुई कम्पनीले विकास गरेका खोपहरुले यही महिनाको अन्तिमसम्ममा आपत्कालीन रूपमा सर्वसाधरणमा प्रयोग गर्न अनुमति दिने तयारी गरेको छ। तर विश्व स्वास्थ्य संगठनले कुनै पनि खोपलाई आमनागरिकले प्रयोग गर्न मिल्ने गरी अनुमति दिइसकेको छैन ।

यता नेपालमा पनि सरकारले कोरोना भाइरसविरुद्धको खोप बनेर बजारमा आएपछि तुरुन्तै ल्याउने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप बनेसँगै सरकारले ल्याउने तयारी गरेको बताएका छन् ।  खोप बनेको खण्डमा कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशत खोप उपलब्ध गराउने प्रतिबद्धता रहेको पनि उनले जानकारी दिए । 

उनका अनुसार कोरोना भाइरसविरुद्धको खोप बनेपछि नेपाललाई ६० लाख खोप कोभ्याक्सले राष्ट्रपतिलाई पत्र लेखेर नै दिने प्रतिबद्धता जनाएको छ । ‘कोभ्याक्सले २० प्रतिशत खोप पनि निकै सस्तो मूल्यमा दिनेछ’ उनले भने,‘“यदि एक खोपको १० डलर परे २ डलर नेपालले तिनुपर्ने हुन्छ ८ डलर सहयोगमा आउँछ ।’ कोभ्याक्सले सहुलियत मूल्यमा दिएको खोपले पुग्दैन । थप कुल जनसंख्याको ८० प्रतिशत खोपका लागि पनि नेपालले कूटनीतिक रुपमा पत्र पठाउने काम गरिरहेको उनले जानकारी दिए ।
 
उनले भने, ‘खोपको तेस्रो चरणमा पुगेका देशहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक रुपमा पत्र पठाएको छ ।’ फ्रन्टलाइनर, स्वास्थ्यकर्मी र प्रहरी आदि जो व्यक्ति धेरै व्यक्तिसँग सम्पर्कमा आउँछन्, त्यस्ताले पहिला खोप पनि पाउँछन् । 
 

विशेष