हुम्लाको एउटै विद्यालयमा ५६ जनालाई कोरोना
विकट हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङस्थित एक छात्रावासमा ५६ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि जिल्लाभरि सबै शैक्षिक संस्था बन्द गरिएको छ।
एउटा स्थानीय शिशुकक्षामा पढ्न जाने गरेका १९ जनासहित अधिकांश संक्रमितहरू विद्यार्थी भएको उक्त गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । नाम्खाको सीमा चीनको तिब्बतसँग जोडिएको छ।
उनका अनुसार विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोभिड–१९ पुष्टि भएको हो।
कोरोनाभाइरस देखिएका सबै बालबालिका हिमालयन चिल्ड्रेन सोसाइटीले सञ्चालन गर्दै आएको आवासीय छात्रावासमा बस्दै आएका छन्। महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु बाजुरा, हुम्ला, डोल्पा, मुगु तथा काठमाण्डूका रहेका जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
कतिपय विद्यार्थीहरू हवाईमार्गबाट आएको र कतिपय बाजुरा हुँदै पैदल आएको हुँदा जहाजबाट आएकाको परीक्षण भएको तर हिँडेर आएकाको परीक्षण नगरेको बताइएको छ। जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले हिँडेर आएका विद्यार्थीमार्फत् संक्रमण भएको हुन सक्ने आशङ्का गरिएको बताए।
विद्यालयका सबै ५२५ जनामा एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएपछि पशुपन्छी प्रयोगशाला सुर्खेतमा पुनः परिक्षणमा सङ्क्रमित देखिएका सबैलाई छात्रावासको आइसोलेशनमा राखिएको सिंहले जानकारी दिए। छात्रावासमा रहेका सीमित विद्यार्थीहरूको अवस्था सामान्य रहेको सिंहले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् आएको एन्टीजेन प्रविधिमार्फत् जाँच गरिएको पोजेटिभ आएकामध्ये २८ जनाको पीसीआर पनि पोजेटिभ नै आएको हुनाले अन्य सबै सङ्क्रमित नै भएको भन्न सकिने उनको भनाइ छ।
त्यहाँ गत कार्तिक १४ गतेबाट विद्यालयहरू खुलेका थिए। मङ्सिर महिनादेखि हिउँ पर्ने भएकाले पठनपाठन गर्न नसकिने भएकाले वार्षिक परीक्षा सकेर फागुनसम्म लागि विद्यालय बन्द गर्ने प्रचलन रहेको हुम्ला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोभिड–१९ देखिएपछि नाम्खा गाउँपालिका तीन दिन र जिल्लाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले बताए। गिरीले सो गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा नियमित कामकाज भइरहेको बताए।
जिल्लामा कोभिड(१९ का कारण थप जोखिम बढेमा उद्धार गर्न प्रदेश सरकारसँग सहयोग मागिने विषयमा निर्णय गरेर जानकारी गराइएको प्रजिअ गिरीले जानकारी दिए। अन्य जिल्लाबाट भित्रने मानिसलाई अनिवार्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिइने निर्णय भएको उनले बताए।
सदरमुकामबाट एक दिनको पैदल यात्रापछि पुगिने यालवाङमा कोभिड–१९ भएका मानिसको संख्या बढ्दै गएकोपछि कर्णाली प्रदेश सरकारले आवश्यक सामाग्रीसहित थप स्वास्थ्यकर्मीहरूको टोली त्यहाँ पठाइने जनाएको छ ।
कार्तिक ३० गते एक जना र मङ्सिर १ गते अर्को एक गरी हिमालयन चिल्ड्रेन सोसाइटीका दुई सञ्चालकलाई श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डू पठाइएको गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए।
उनीहरूमा सङ्क्रमण देखिएपछि विद्यार्थीहरूको परीक्षण गरिएको जनाइएको छ । ठूलो संख्यामा संक्रमितहरू फेला परेपछि उनीहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा गाउँपालिकामा अक्सिजन र आईसीयू तथा भेन्टिेटरको व्यवस्था नभएको हुनाले के गर्ने भनेर अधिकारीहरू चिन्तित देखिएका छन्।
गाउँपालिका एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको अध्यक्ष लामाको भनाइ छ।
बीबीसी नेपालीको सहयोगमा