News राजनीति

विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार छुः देउवा

विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार छुः देउवा

नेपाली कांग्रेसको सोमबार बसेको अनौपचारिक बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले सभापति शेरवहादुर देउवा विरुद्ध असन्तुष्टि ब्यक्त गरेका छन्। तर, नेताहरुको कुरा सुनेर पनि सभापति देउवाले आफनो अडान नछोडेको सभागिहरुले वताए ।

छलफलमा पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने गरी ठोस समझदारी वन्न नसकेको जनाईएको छ । पौडेल पक्षले देउवाका पछिल्ला निर्णय र गतिविधिले महाधिवेशनमा धाधली हुने आशंका जाहेर गरी ११ असोजमा केन्द्रीय कार्यालयमा १६ बुँदे ज्ञापन पत्र दर्ता गराएको थियो । विधान विपरितका भएका सवै काम उल्टाउनु पर्ने माग ज्ञापन पत्र मार्फत पौडेल पक्षले राखेको छ ।

आफूहरुको माग केन्द्रीय कार्यसमितिको बैठक अघि नै सम्बोधन हुनुपर्ने अडान राखेपछि देउवाले सोमबार पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक डाकेका थिए । केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बोलाइएको छ ।

पौडेल पक्षले विधान र प्रक्रिया विपरित क्रियाशिल सदस्यताको वितरण र केन्द्रीय विभागमा भएका मनोनयन उल्टाउनु पर्ने माग राखे। भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन नभइ महाधिवेशनमा प्रतिनिधिको व्यवस्था गर्न नहुने विषयमा उनले आफना कुरा राखे ।

उपसभापति विमलेन्द्र निधिले क्रियाशिल सदस्यता विधानको व्यवस्था र प्रक्रिया अन्तर्गत नै रहेर वितरण भएको दाबी गरेका छन् ।  पौडेल पक्षले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताको समयोजनको नाममा क्रियाशिल सदस्यता दिँदा विधान र प्रक्रिया मिचेको आरोप लगाउँदै आएका छन् ।

सभापति शेरबहादुर देउवाले भने विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका थिए । 

नेता अर्जुननरसिंह केसीले संस्थापनपक्षले आफूले गरेका सबै काम विधान र प्रक्रिया अनुसार गरेको भनेर दिएको प्रस्तुतिले सहमति ननिस्कने दाबी गरे । वैठकमा नेता पौडेल, उपसभापति निधि, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री पुर्णबहादुर खड्का, केन्द्रीय सदस्य महेश आचार्यले धारणा राखेका थिए ।

वैठक मंगलवार पनि वस्ने कांग्रेसले जनाएको छ ।

विशेष