News

भारतीय विदेश सचिव हर्षवर्धन नेपाल आउँदै, मेटिएला संवादहीनता ?

भारतीय विदेश सचिव हर्षवर्धन नेपाल आउँदै, मेटिएला संवादहीनता ?

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले विहिवारदेखि दुई दिने (०७७ मंसिर ११ र १२) नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि उनको यो पहिलो भ्रमण हो । एक महिनाअघि मात्रै परराष्ट्र सचिवका रूपमा नियुक्त भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव श्रृंगलाले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेको जनाइएको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार विदेश सचिव श्रृंगलाले बिहीबार परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय मामिलामा वार्ता गर्नेछन् भने लगत्तै परराष्ट्रमन्त्री, प्रधानमन्त्रीसहितका उच्च पदाधिकारीसँग भेटवार्ता गर्नेछन ।

यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदान–प्रदानको निरन्तरता अनुरुप रहेको छ ।  भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्ने जनाईएको छ ।

नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको छ । हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ । भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

२०७५ चैतमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएयता उच्च तहमा संवाद हुन सकेको थिएन । गत महिना भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणे र त्यसअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल नेपाल भ्रमणमा आएका थिए । तर सरकारी र कूटनीतिक तहमा विदेश सचिव श्रृंगलाको नेपाल भ्रमण पहिलो हो । भ्रमणका क्रममा सचिव श्रृंगलाले कोभिड–१९ सम्बन्धी सहयोग सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।

पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले भारतीय विदेश सचिवको भ्रमण हुनुलाई ‘सकारात्मक’ भन्दै त्यसको उपलब्धि ‘शिष्टाचार र औपचारिकता’ मा मात्रै निहित भए अर्थ नरहने बताए । शिष्टाचार भेटका क्रममा सचिव श्रृंगलाले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमक्ष भारतीय प्रधानमन्त्रीले पठाएको राजनीतिक सन्देश पनि सुनाउने अपेक्षा गरिएको छ । यसैगरी समकक्षी परराष्ट्र सचिवसमक्ष द्विदेशीय–द्विपक्षीय समस्याको गाँठो फुकाउनेतर्फ प्रयत्नसमेत एकैसाथ हुने आशा छ। 

भारतले गतवर्ष कात्तिक १६ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिपुलेकसम्मै आफ्नोतिर राखेपछि सुरु भएको ‘द्विदेशीय कटुता’ अहिलेसम्म जारी छ । भारतले नेपालको भूभाग समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि र त्यसमा सडक सञ्जाल बनाएर उपयोग गर्न थालेपछि नेपालले गत जेठमा नयाँ राजनीतिक नक्सा निकाल्दै लिम्पियाधुरासम्मकै भूभागलाई आफ्नोतर्फ नक्सांकन गरिसकेको छ । अर्कातिर, नेपालले भारतको र भारतले नेपालको राजनीतिक नक्सालाई अस्वीकार गर्दै आएको असहज अवस्थामा द्विदेशीय ‘संवादहीनता’ जारी छ ।

विशेष