News

गोरखा पुगेर श्रृंगलाले गरे तीन वटा विद्यालय भवन उद्घाटन

गोरखा पुगेर श्रृंगलाले गरे तीन वटा विद्यालय भवन उद्घाटन

भारत सरकारको सहयोगमा गोरखामा निर्मित तीनवटा विद्यालय भवन उद्घाटन भएका छन् ।

भारती विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले संयुक्त रुपमा शुक्रवार विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

महालक्ष्मी मावि लक्ष्मीबजार, तारा मावि छेपेटार र रत्नलक्ष्मी मावि डुम्रीडाँडामा नवनिर्मित विद्यालय भवनको उद्घाटन महालक्ष्मी माविमा आयोजित कार्यक्रम मार्फत गरिएको छ । गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नम्बर १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन भएका हुन् ।

विदेश सचिव श्रृङ्गलाले वीर गोरखाली भनेर विश्वभर चिनिएको र नेपाल एकीकरणको सुरुवातको स्थान गोरखामा आउन पाउँदा खुशी लागेको वताए । उनले नेपाली भाषामै सम्वोधन गरेका थिए ।

श्रृंगलाले ०७२ सालको गोरखा भूकम्पको केन्द्रबिन्दु गोरखा र नुवाकोटमा ५० हजार वटा निजी आवास पुनर्निर्माण भइरहेको पनि बताए। भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको छ।

सो रकमले गोरखामा २६ हजार ९१२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण भइरहेको र नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भइसकेका उनले जानकारी दिए ।

भूकम्प प्रभावित विभिन्न जिल्लामा ७० वटा विद्यालय भवन पुनर्निर्माण भइ रहेका र १४७ वटा स्वास्थ्यचौकी, एउटा लाइब्रेरी र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको उनको भनाई छ । 

श्रृंगलाले नेपाल र भारत बीचको सम्बन्ध सँधै सुमधुर भइरहने विश्वास व्यक्त गरे।

विशेष