जाडोयाममा कोरोनाको दोस्रो लहर आउने विज्ञको चेतावनी
चिसोयाममा कोरोनाको दोस्रो लहर आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन । चिसोमा आरएनए भाइरस वृद्घि हुन सक्ने भएकाले रोकथामको भरपर्दो उपाय अपनाउन उनीहरुले सुझाएका छन् ।
नियमित रूपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरी र हातको सरसफाइमा ध्यान दिन उनीहरूको सुझाव छ । नेपालमा कोरोनाको पहिलो लहर नसकिँदै दोस्रो लहरमा संक्रमण बढ्न सक्ने उनीहरूको विश्लेषण छ ।
नेपाल तथा उत्तरी भारतमा दोस्रो लहर जाडोयाममा आउन सक्ने र युरोपमा आगामी वर्ष तेस्रो लहर आउने जोखिम औंल्याइँदै उनीहरुले मुलुकमा देखिएको पहिलो लहर घटेर तल नपुगेकै वेला डिसेम्बरदेखि फेव्रुअरीसम्म दोस्रो लहर आउने सम्भावना उच्च रहेको वताएका छन्।
नेपालमा सुरुवाती अवस्थामा क्वारेन्टाइनमा रहेका र विदेशबाट आएकाहरूमा आयातित संक्रमण थियो । हाल कोरोनाको पहिलो लहर आएर संक्रमण विस्तार भइरहेको विज्ञ बताउँछन । हाल नेपालमा संक्रमण घट्दो क्रममा देखिए पनि मृत्यु बढ्दो क्रममा रहेको र पीसीआर परीक्षणसमेत पहिलेको दाँजोमा कम भएकोमा विज्ञहरुको चिन्ता छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसै साता चेतावनी जारी गर्दै दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले सावधान रहन भनेको छ । डब्लूएचओका पूर्वी भूमध्यसागरीय क्षेत्र निर्देशक अहमद अल मन्धारीले दक्षिण पश्चिम एसियाली मुलुकलाई दोस्रो लहरको सामना गर्न तयार हुन भनेका छन । विज्ञका अनुसार रोकथामको उचित उपाय नअपनाउँदा कोरोना संक्रमण डरलाग्दो गरी तीव्र रूपमा फैलिन्छ । संक्रमणको संख्या एक सातामै आठ गुणासम्म बढ्न सक्छ । आगामी सात दिनमा ४० गुणाको दरले फैलिन सक्ने, तेस्रो साता तीन सय र चौथो साता हजार गुणाले फैलिने विज्ञहरूले अनुमान गरेका छन ।
कोभिडविरुद्घको खोप आउन समय लाग्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर जोखिम समूहमा रहेकालाई सुरक्षित राख्नुपर्ने विज्ञहरुले सुझाव दिएका छनु । मधुमेह भएका र बूढापाकामा बढी जटिलता रहेको बताउँदै उनिहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा घरबाहिर ननिस्केका ९० वर्षीय वृद्धवृद्धा समेत संक्रमित भएर जटिल अवस्थामा अस्पताल पुगिरहेको उनीहरु वताउँछन् ।
विज्ञहरूले कोरोनाविरुद्धको खोप नआउन्जेल जाडोयाममा मौसमी रुघाखोकी, निमोनिया आदिको खोप लगाउनु फाइदाजनक हुन सक्ने औंल्याएका छन ।
देशभर २ लाख २९ हजार ३४३ जना संक्रमित भएका छन् भने १ हजार ४ सय ३५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन ।