News

अब प्रचण्डले आत्मआलोचना गरेर मात्रै पनि सुख पाउँदैनन्ः प्रधानमन्त्रीका प्रेस सल्लाहकार

अब प्रचण्डले आत्मआलोचना गरेर मात्रै पनि सुख पाउँदैनन्ः प्रधानमन्त्रीका प्रेस सल्लाहकार

आज शनिबार हुन लागेको नेकपाको सचिवालय बैठकलाई सबैले उत्सुकता र आशंकासहित हेरिरहेको अवस्थामा नेताहरूबीच छलफल र भेटघाटको गति तीब्र भएको छ । त्यहि क्रममा हिजो शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा ऊर्जा मन्त्री वर्षमान पुन र नेता मातृका यादवले संयुक्त रूपमा भेटेका छन् । उक्त भेटघाटको १० मिनेटपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले दाहालसँग करिब पौने घण्टा भेटवार्ता गरेको खुमल्टार सचिवालय श्रोतको कथन छ ।

हिजै खुमलटारमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच पनि दिउँसो झण्डै तीन घण्टासम्म घनिभूत छलफल भएको थियो । दाहालले वि.सं. २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरूको संग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पनि हिजै सार्वजनिक भएको छ । उक्त पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठान,नेपालले प्रकाशन गरेको हो ।

यता, प्रधानमन्त्री निवास बालुवाटारमा पनि हिजो भेटवार्ता र छलफल निकै बाक्लिएको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलबीच बिहान को भेटघाट झण्डै एक घण्टा लम्बिएको थियो । त्यसैगरी,प्रधानमन्त्रीसँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि यसरी नै छलफल गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीलाई भेट्न मुख्यसचिव शंकरदास बैरागी बालुवाटार पसेको बताइन्छ ।

यता,वरिष्ठ नेता नेपाल निवास,कोटेश्वरमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पार्टीको बिबाद बढ्न नदिन झण्डै डेढ घण्टा कुराकानी गर्नुभएको र पर्यटन मन्त्री योगेश भट्टराईलाई उर्जामन्त्री बिष्णु पौडेलले आफ्नै कार्यकक्षमा झिकाउनुभएको सहयोगी समूहले जनआस्थालाई बतायो । त्यसअघि नेपालसँग परराष्ट्र सचिव भरतराज पौडेलको टिमले करिब २० मिनेट संक्षिप्त भेट गरेको थियो ।

उता, नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गर्न उहाँकै निवास, भैसेपाटीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल साँझ पुग्नुभएको थियो । पोखेरल र गौतमबीच झण्डै डेढ घण्टा वार्तालाप भएको थाहा लागेको छ ।

सचिवालय बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक टेलिभिजन कार्यक्रममा बोल्दै आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्षले अर्का अध्यक्ष प्रचण्डको पत्रको उचित जवाफ दिने बताएका छन् । थापाले प्रधानमन्त्रीमाथि लगाइएका आरोपहरू फौजदारी कानुन आकर्षित हुने चरित्रका रहेकाले अब प्रचण्डले आत्मआलोचना गरेर मात्रै पनि सुख नपाउने बताएका थिए ।

त्यसैगरी नेकपा स्थायी कमिटी सदस्य मणि थापाले एक टेलिभिजन अन्तर्वार्तामा आफूसँग अध्यक्ष प्रचण्डले ‘अब म केपी ओलीसँग फाईट गर्न चाहन्छु, तपाईंहरूले सहयोग गर्नुहोस’ भनेर आग्रह गरेपनि आफूहरूले त्यसमा सहयोग गर्न नसक्ने जवाफ फर्काएको बताएका छन् ।
यो सामग्री जन आस्थावाट साभार गरिएको हो ।
 

विशेष