विराटनगर क्षेत्रमा ‘रेम्डेसिभिर’ औषधिको तस्करी, भिआईपीहरु नै संलग्न
गम्भीर स्वास्थ्य समस्या देखिएका कोरोना संक्रमितका लागि प्रयोग गरिने ‘रेमडिसिभिर’ औषधीको विराटनगर नाकाबाट तस्करी भईरहेको छ ।
भारतबाट मोरङका विभिन्न नाका हुँदै विराटनगर लगायतका विभिन्न स्थानमा पुर्याउने गरिएको पाईएको छ । इन्जेक्सनको रुपमा प्रयोग हुने यो औषधि तस्करीमा संलग्नलाई पक्राउ गरेपछि रहस्य खुलेको हो ।
भारतीय बजारमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म पाइने रेम्डेसिभिर नेपालका अस्पतालहरुमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको बताइन्छ । कडा लक्षणसहितका कोरोना संक्रमित बढ्दै जाँदा आईसियू र भेन्टिलेटरमा राखेर उपचार गरिने बिरामीलाई यही औषधि चलाउने गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले हालै विराटनगर–१३ स्थित सैनक टोलका ३६ वर्षीय नरेश यादवको घरबाट तस्करी भएर आएको अन्य औषधिसँगै १० भाइल रेमडिसिभिर पनि बरामद गरेको थियो । प्रतिवन्धित अन्य लागु औषधसहित रेमडिसिभिर पनि वरामद भएपछि यस्को तस्करी मौलाएको निस्कर्षमा प्रहरी पुगेको छ ।
रेमडिसिभिर तस्करीमा संलग्न थप व्यक्ति पक्राउ गर्न प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरिसकेको जनाईएको छ । रेमडेसिभिरको तस्करीमा विराटनगर तथा अन्य वजारका औषधि व्यवसायी, निजी अस्पताल र स्वास्थ्य क्षेत्रका व्यक्तिहरु नै संलग्न रहेको अनुमान छ ।
प्रहरीले विशेष सूचनाका आधारमा भण्डारण गरेको ठाउँम छापा मारेको थियो । खाली ट्याक्टरको मुनी औषधि र माथिबाट पराल राखेर चोरबाटो हुँदै तस्करी गरेर औषधि गोदाामसम्म लगेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।