News राजनीति

नेकपा फुट्छ र खान पाइन्छ भनेर रोटी नवेल्दा हुन्छ, सेक्ने ठाउँ पाईदैन : खनाल

नेकपा फुट्छ र खान पाइन्छ भनेर रोटी नवेल्दा हुन्छ, सेक्ने ठाउँ पाईदैन : खनाल

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि कांग्रेसलाई गुहार्न थालिसक्दा समेत वरिष्ठ नेता झलनाथ खनाल भने पार्टीमा वैचारिक लडाइँ मात्रै भएको र पार्टी नफुट्ने दाबी गरिरहेका छन् । 

१५ शय्याको अस्पताल शिलान्यास गर्न सोमबार इलामको माई नगरपालिकामा पुगेका सचिवालय सदस्य समेत रहेका खनालले केही साथीहरुले बाटो बिराएको भए पनि मूलधारमा फर्कन आग्रह गरे ।

नेपका फुट्ला र ठुला भाग खान पाउँला भनेर वसेकाहरुलाई त्यस्तो सपना नदेख्न उनले सुझाव दिएको छन् । ‘नेकपा फुटिदिन्छ र ठूलो भाग खान पाइन्छ भनेर रोटी वेल्दै हुनुहुन्छ भने रोके हुन्छ। रोटि सेकाउने ठाउँ पाउनुहुन्न’ उनले भने–‘त्यो सपना कुनै हालतमा पूरा हुँदैन ।’

मंगलबार बस्ने पार्टी सचिवालयको बैठकले अहिलेको विवाद र समस्याका विषयमा केही ठोस निर्णय गर्ने पनि उनले बताए ।

खास गरी मिडियामा बसेका कच्चा मानिसले नेकपाका विषयमा गलत कुराको प्रचार गरिरहेको वताएका खनालले भने–‘नेकपा फुट्छ भनेर कुर्लिएका छन्, तर म तपाईंहरूलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन, यसलाई कसैले पनि फुटाउन सक्दैन, पार्टीभित्रको अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ।’
 

विशेष