अपशब्द प्रयोग गरेको रिसमा साथीको हत्या, घटना लुकाउन अपहरणको नाटक
अपशब्द प्रयोग गरेको आवेगमा सुनसरी दुहबी नगरपालिका – २ का १७ वर्षिय सुजन नारायण चौधरीको आफ्नै साथीले हत्या गरेका छन् ।
मंसिर ११ गते उनी ‘साथीको घर जान्छु’ भन्दै घरवाट निस्केका थिए । सोहि दिन साँझ साथी २० वर्षिय सुमन झाले नै उनको हत्या गरेको प्रहरीले जनाएको छ । झा चौधरीका छिमेकी नै हुन् ।
केही दिन अगाडी लागेको मेलामा अपशब्द प्रयोग गर्दै बेइज्जत गरेको रिस फेर्न चौधरीको हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरीका एसपी कमल थापाले जानकारी दिए ।
प्रहरीका अनुसार सुमनले नै सुजनलाई फोन गरेर बोलाएका थिए । उनलाई घरदेखि दक्षिण दुहवी नगरपालिका २ स्थित अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गामा वोलाईएको थियो । साँझको साढे ६ बजेपछि उनीहरू बिच विगतका भएको कुरालाई लिएर झनाभन भएको र सोहि क्रममा झाले चौधरीलाई कुटपिट गरेको प्रहरीको भनाई छ ।
कुटपिटका क्रममा ढुंगामाथि लडेका चौधरीलाई घाँटी थिचेर मारेको खुल्न आएको प्रहरीले जनाएको छ । झाले अभियोग स्विकार गरेका छन् । हत्या गरेपछि झाडी भित्र शव फालेर सुमन आफ्नो घरतर्फ लागेको प्रहरीको भनाई छ ।
सुजनको हत्या गरेपछि सुमनले घटना लुकाउन अपहरणको नाटक समेत गरेको सुनसरी प्रहरी प्रमुख थापाले बताए । रातीसम्म घर नआएपछि चौधरीको मोवाइलमा आमाले फोन गर्दा अभियुक्त झाले नै फोन उठाएर ‘तपाइको छोरा मेरो कब्जामा छ’ भनेर फोन राखेर मोवाइल अफ गरिदिएको पनि थापाले जानकारी दिए ।
प्रहरीले अभियुक्त झासहित संलग्न ३ जनालाई आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले छ ।