बीपी प्रतिष्ठानका रेडियोग्राफरसहित कोरोनाले ४ जनाको मृत्यु
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफरसहित ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोभिड अस्पतालमा उपचारको क्रममा रेडियोग्राफर (पुरुष), मोरङको केराबारी गाउँपालिका–८ का ५७ वर्षीय पुरुष, धरान–१५ का ६३ वर्षीय पुरुष र धरान–१६ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सप्तरीको राजविराज घर भएका ३० वर्षीय रेडियोग्राफरको मृत्यु सोमबार बेलुका भएको हो । उनी प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत थिए । दिसा पातलो आउने र ज्वरो आएपछि उनको पीसीआर जाँच गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । तर, मृत्यु पछि गरिएको पीसीआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
केराबारी–८ का ५७ वर्षीय संक्रमित पुरुषको मंगलबार बिहान ५ बजे मृत्यु भएको हो । यसैगरी धरान–१५ का पुरुषको २७ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । कोरोना पोजिटिभ देखिएपछि लक्षण नभएपनि सुरक्षाका लागि कोभिड अस्पतालमा कात्तिक ५ गते भर्ना भएका थिए । तर कोभिड अस्पतालमा बस्दा झन् तनाव भएपछि घरमै होम आइसोलेसनमा बसेका थिए । होम आईसोलेसनमा वसेको तीन दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको न्यूरो अस्पतालको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
धरान–१६ का ७७ वर्षीय वृद्ध पुरुषको विराट मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएको हो । एक साताअघि पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उपचारका लागि धरानमा आईसियू भेन्टिलेटर नपाएपछि उनलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।