किन विच्किए वीरका चिकित्सक, १६ जनाले दिए राजीनामा
प्रशासनले आफना माग र सुरक्षामा ध्यान नदिएको भन्दै वीर अस्पतालको आकस्मिक कक्षका १६ जना चिकित्सक (मेडिकल अधिकृत) ले बुधबार सामूहिक राजीनामा दिएका छन् ।
अस्पतालका निर्देशकलाई बुझाएको राजीनामा पत्रमा माहामारीमा काम गर्दा पनि आफना मागहरुको बेवास्ता भएको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएको लगायतका कारणहरु प्रस्तुत गरिएका छन् ।
चिकित्सकहरुले धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएकाले आफुहरुको मनोवल गिरेको वताएका छन् ।
‘कि हामीले भने अनुसार काम गर कि राजीनामा देऊ भनेपछि हामीले राजीनामा दिएका हौँ’, डा. कौशलेन्द्र चौधरीले भने, ‘तर, राजीनामा स्वीकृत नहुँदासम्म हामीले काम गरिरहन्छौँ, चिकित्सकको धर्म छाड्दैनौँ ।’ अहिले पनि अस्पतालको आकास्मिक कक्षको उपचार भने सञ्चालनमै छ ।
अहिलेसम्म वीर अस्पतालको आकास्मिक कक्ष मेडिकल अधिकृतहरुकै भरमा चलिरहेको छ । दसैँ नजिकिँदै गर्दा वीर अस्पतालका चिकित्सकहरुले गत २ कात्तिकमा आन्दोलन गरेका थिए ।
सुरक्षा र कोभिड भत्ताको माग राख्दै १५ दिने म्याद राखेर लिखित माग प्रस्तुत गरिए पनि कुनै सम्बोधन नभएपछि उनीहरुले आन्दोलन गरेका थिए ।
अस्पतालका डाइरेक्टर डा. केदार सेन्चुरीले भने डाक्टरहरुले काम गर्दैनौँ भन्न नमिल्ने बताउँछन् । उनले माग सम्बोधनको विषयमा पदाधिकारीहरुबीच छलफल भइरहेको पनि उनले बताए ।