जङ्गी अड्डामा नरवणेले रोपे ओखरको बिरूवा
भारतीय स्थल सेना अध्यक्ष मनोजमुकुन्द नरवणेले बिहीबार सैनिकमञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस लगत्तै उनी सैनिक मुख्यालय जङगीअड्डामा आयोजित समारोहमा सहभागि भए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ।
उनले जङ्गी अड्डा परिसरमा ओखरको बिरूवा रोपे। त्यसलगत्तै प्रधानसेनापति थापा र नरवणेबीच औपचारिक भेटवार्ता सुरू भएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार यहाँ आइपुगेका हुन्।
दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी तेह्रौं बैठकमा भएको सहमतिअनुरूप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केहीबेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन्।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरूप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८ औं सेनापति हुन्।