नरवणेको उपहारः २ वटा अस्पताललाई भेन्टिलेटरसहितका उपकरण
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाली सेनाका दुई वटा फिल्ड अस्पतालका लागि आवश्यक भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण हस्तान्तरण गरेका छन् ।
नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँगको भेटवार्ताका क्रममा उपहार स्वरुप उनले स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन ।
नरभणेले एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको नेपाल स्थित भारतीय दुतावासले जनाएको छ ।
कोभिड–१९ महामारी विरुद्धको लडाइमा सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरिएको दुतावास कार्यालयले जनाएको छ । यसअघि गत जुलाईमा पनि भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहार दिएको थियो ।
प्रधान सेनापति थापाको निमन्त्रणमा तीन दिने भ्रमणका लागि उनी वुधवार नेपाल आएका हुन् ।
उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा र भारतीय राजदूतावासका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
वुधवार धार्मीक कृयाकलापमा विताएका नरवणेले विहिवार विहान काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी मृत शहीदहरु प्रति श्रद्घान्जली अर्पण गरे। त्यसपछि उनी नेपाली सेनाको जंगी अड्डा पुगे। उनलाई नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।
त्यसलगत्तै जनरल नरवणेले नेपाली समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका हुन । भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको दुतावासले जानकारी दिएको छ । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणे समक्ष ब्रिफिङ् पनि गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८ औं सेनापति हुन्।