News

ओलीलाई मोदीको सन्देश वोकेर पो आएका रहेछन् नरवणे !

ओलीलाई मोदीको सन्देश वोकेर पो आएका रहेछन् नरवणे !

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरी स्वदेश फर्केका छन् । तीन दिने औपचारिक भ्रमण पुरा गरी उनी शुक्रवार साँझ स्वदेश फर्केका हुन्।

सेनाध्यक्ष नरवणेले भारतीय राजदूत विनय मोहन क्वात्रा तथा अन्य भारतीय अधिकारीहरुसहित प्रधानमन्त्रीसँग भेट गरेका थिए । भेटमा नरवणेले नेपालका प्रधानमन्त्री ओली र नेपाली जनतालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देश सुनाउका थिए ।

नेपाल सरकारको न्यानो आतिथ्यका लागि पनि जनरल नरवणेले कृतज्ञता व्यक्त गरे। भेटवार्तामा भारत र नेपालबीचको विस्तृत द्विपक्षीय साझेदारीबारे छलफल भएको थियो । नरवणेले दुई देशबीचको रक्षा सहकार्यलाई अझ सुदृढ पार्र्ने कुरामा जोड दिए। 

प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि नरवणेले शिवपुरीस्थित ‘नेपाली आर्मी कमान्ड एण्ड स्टाफ कलेज’ को भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीहरुलाई सम्बोधन गरेका थिए ।

भ्रमण समापन गर्नु अघि भारतीय राजदूतावास पुगी नेपालमा रहेका करिब २ लाख ३० हजार भारतीय सेनाका भूतपूर्व सैनिकहरु तथा उनीहरुका परिवारजनका लागि परिचालित कल्याणकारी कार्यहरु बारे उनले जानकारी लिएका थिए ।

सो अवसरमा उनले भारतको दोस्रो उच्च वीरता पुरस्कार ‘महावीर चक्र’ पदकबाट सम्मानित अवकाश प्राप्त हवल्दार दिलबहादुर क्षेत्रीलाई कल्याणकारी अनुदान प्रदान गरे।

विशेष