News

नेपालमा कोभिड मृत्युदर साँच्चै कम हो ?

नेपालमा कोभिड मृत्युदर साँच्चै कम हो ?

नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसको संख्या अन्यत्रको तुलनामा थोरै भएको विषय विगत ६/७ महिनादेखि नै चर्चामा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले पनि नेपालमा कुल सङ्क्रमितमध्ये सुन्य दशमलव ५७ प्रतिशतको कोरोनाका कारण ज्यान गएको देखिन्छ।

नेपालमा आईतवार सँझसम्म सङ्क्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।  यो अनुपात भारतमा १ दशमलव ५, वङ्लादेशमा १ दशमलव ४, पाकिस्तानमा २ र अफगानिस्तानमा ३ दशमलव ७ प्रतिशत छ। दक्षिण एशियाका माल्दिभ्स र श्रीलङ्कामा मृत्युदर नेपालमा भन्दा कम छ।

यस्तो छ कारण
मृत्यु दर कम हुनुमा देशको जनसंख्याको संरचनाले काम गरेको हुन्छ। कोरोनाले धेरै उमेरका मानिसहरूमा गम्भीर असर र मृत्यु निम्त्याएको संसारभरि देखिएको छ। त्यसैले नेपालजस्तो अत्यधिक युवा जनसंख्या भएका देशमा यसको मृत्युदर कम हुने ठानिन्छ।

नेपालमा केही समयअगाडि कोरेनाबाट ज्यान गुमाउनेमध्ये आधाजति ६० वर्षभन्दा माथिको उमेरको भएको जनाईएको थियो । नेपालमा ६० वर्षभन्दा माथि उमेर भएका मानिस कुल जनसंख्याको केवल ८ दशमलव ६ प्रतिशत मात्र छन्। यसबाट पनि यहाँ कम मृत्युदर हुने प्रक्षेपण गर्न सकिने विज्ञहरू बताउँछन्।

एउटा जनसांख्यिक विवरण र अर्को सामाजिक संरचनाका कारण पश्चिमा देशहरूको तुलनामा नेपालमा मृत्यु दर कम छ। पश्चिमा देशमा निकै धेरै मृत्यु वृद्धवृद्धालाई राखिने नर्सिङ होमहरूमा भएको पाइएको छ। तर, यसको उल्टो नेपालमा वृद्धवृद्धाहरू धेरै गाउँघरमै बस्छन् । त्यसैले पनि सङ्क्रमण कम भएको विज्ञहरु वताउँछन् ।

ग्रामीण वस्तीमा कोभिडका कारण नै कसैले ज्यान गुमाए पनि त्यो जानकारीमा नआउने भएकाले पनि मृत्यु दर कम देखिन्छ। स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीले अहिले प्रस्तुत गर्ने गरिएको तथ्यांकमा भर पर्नु भन्दा पनि यस विषयमा थप अध्ययन हुनुपर्ने बताउँछन् ।


रोगसँगको प्रतिरोधी क्षमता
भारतका केही वैज्ञानिकहरूले त्यहाँ गरेको अध्ययनमा कैयौँ भारतीयहरू कमजोर सरसफाइ भएको स्थानमा अनि अन्य रोगको सङ्क्रमणसँग जुझ्दै हुर्किने भएकाले तिनमा कोरोनाभाइरससँग जुझ्न पनि थप प्रतिरोधी क्षमता भएको हुनसक्ने उल्लेख गरेका छन्। उस्तै उस्तै रहनसहन र अवस्था भएकाले नेपालमा पनि त्यही तर्क लागु हुनसक्ने एकथरी ठान्छन्। तर अर्काथरी भने ‘बिरामीहरूमा एकथरी कोरोनाभाइरसको एन्टिबडी पहिलेदेखि रहेकाले कोभिड–१९ मा पनि त्यसको प्रतिक्रिया देखिएको र त्यसले नै हामीलाई बचाइरहेको छ भएपनि वैज्ञानिक प्रमाण नभएको’ उनीहरु वताउँछन् ।

अध्ययन हुन आवश्यक
जनस्वास्थ्यविद् डा. सुशीलनाथ प्याकुरेलले नेपालमा कोभिडबाट कम मृत्युदरको विषयमा थप अध्ययन हुन बाँकी रहेको तर जनस्वास्थ्यको सन्दर्भबाट केही अनुमान भने गर्न सकिने बताए। ‘एउटा जनस्वास्थ्यको जानकारको हैसियतले मैले चारवटा अनुमान गरेको छु। यद्यपि यी अनुमानलाई अध्ययनबाट पुष्टि गर्न बाँकी नै छ,’ –उनले भने।

उनले अगाडि सारेको चारवटा अनुमानमा एक बीसीजी खोपको व्यापक प्रयोगले उत्पन्न गरेको हुनसक्ने प्रतिरोधी क्षमता हो। ‘पश्चिमा देशहरूको तुलनामा यहाँ क्षयरोगविरुद्धको बीसीजी खोप व्यापक लगाइन्छ र यसले पनि केही सुरक्षा प्रदान गरेको हुनसक्ने कतिपय विज्ञले उल्लेख गरिरहेका छन्।’

दोस्रो कारणमा केही भारतीय वैज्ञानिकहरूले भनेको जस्तै अन्य रोगसँग लडेको प्रतिरोध अनुभवले कोभिडसँग लड्न सघाउ पुगेको हुनसक्ने र तेस्रो कारण यो क्षेत्रको विशिष्ट खानपान हुनसक्ने उनले बताए। ‘चौथो कारण चाहिँ हाम्रो सांस्कृतिक रहनसहन हुनसक्छ। उदाहरणका निम्ति हामीमाझ अँगालो हाल्ने वा हात मिलाउने भन्दा नमस्ते गरेरै अभिवादन गर्ने जस्ता प्रचलन छन् जसले सङ्क्रमण फैलिन पनि रोक्न मद्दत गर्छ,’ उनले बताए।

सबैजसो विज्ञहरूको सहमति के मा छ भने मृत्युदरबारे यकिन आँकडा पहिले थाहा हुनुप¥यो अनि त्यसपछि कारणहरूबारे पनि वैज्ञानिक तवरले अध्ययन अनुसन्धान हुनुपर्यो।
बीबीसी नेपालीको सहयोगमा
 

विशेष