News

भारतीय सहयोगमा निर्मित लक्ष्मीनियाँ जनता माविको नयाँ भवन उद्घाटन

भारतीय सहयोगमा निर्मित लक्ष्मीनियाँ जनता माविको नयाँ भवन उद्घाटन

भारत सरकारको सहयोगमा निर्मित धनुषाको कुम्हरौडास्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नयाँ भवन सोमवार उद्घाटन भएको छ ।

काठमाण्डौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय परियोजना कार्यान्वयन इकाई, धनुषा, विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिहरुले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको २ करोड ६२ लाख ४० हजारको सहयोगमा १५ कोठाको ३ तले भवन निर्माण गरिएको हो । 

सन् १९५६ मा स्थापना भएको यावे विद्यालयमा हाल करिब ११ सय ७ जना विद्यार्थीहरु अध्ययनरत छन् । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको भारतीय दुतावासले जनाएको छ । यस परियोजनाले नेपाल र भारतबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको दुतावसको भनाई छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा विकास गरिएको हो । यस्तै, धनुषाको तुलसियाहीमा वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि पनि भारतले सहयोग गरेको दुतावासले जनाएको छ । ०७६ चैत्र ३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ भने टेन्डर प्रक्रिया पुरा गर्न बाँकी रहेको जनाईएको छ । 

भारतले हालसम्म नेपालमा ४ सय २४ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ । जसमध्ये धनुषामा १० सहित प्रदेश नं २ मा ४५ वटा परियोजना सम्पन्न भएका छन् ।

यसैगरी, धनुषामा ९ सहित प्रदेश नं २ मा भारत सरकारको अनुदानमा सञ्चालित २१ परियोजनाहरु सम्पन्न तथा कार्यान्वयनका विभिन्न चरणहरुमा रहेको दुतावासले जनाएको छ ।
 

विशेष