News

उपमहानगरको वेवास्ताले गन्हाउँन थाल्यो जनकपुर

उपमहानगरको वेवास्ताले गन्हाउँन थाल्यो जनकपुर

जनकपुरस्थित विश्व प्रशिद्ध धार्मिक पर्यटकीय स्थल जानकी मन्दिर प्रवेशद्वारमा पुग्ने जो कोहीले यतिवेला नाक थुन्नु पर्ने अवस्था छ । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा एक सातादेखि मन्दिर प्रवेश गर्ने ढोकामै फोहोरको डंगुर लागेको छ ।

जानकी मन्दिर मात्र होईन, प्रमुख चोकहरु, बसपार्क, भैरवचोक, राजदेवी मन्दिर, विश्वकर्मा चोक, विद्यापति चोक, जानकी चोक, रामानन्द चोक, पीडारी चोक, पुलचोकसहितका स्थानमा थुपारिएको फोहोर एक सातादेखि नउठेको स्थानीयवासीहरु वताउँछन् ।

पोखरी, तलाउ, होटल, पसल तथा अधिकांश सडक किनारमा थुपारीएको फोहोर ब्यवस्थापन हुन सकेको छैन । जसका कारण मानिसको आवागमनमा समस्या भएको छ भने दुर्गन्धका कारण संक्रमण फैलने सक्ने खतरा समेत वढेको उनीहरुको भनाई छ ।

फोहोर ब्यवस्थापनमा उपमहानगरपालिकाले वेवास्ता गरेको एक ब्यवसायीले वताए । ‘गुनासो गर्दा सुनुवाइ पनि हुँदैन’ उनले भने–‘उपमहानगरको अवस्था देखेर मानिसहरु वाक्क भएका छन्।’ फोहोर नउठ्दा वजार नै गन्हाउँन थालेको उनले वताए ।

फोहोर फाल्ने ठाउँको उचित व्यवस्था नहुँदा सडक किनारमै फाल्नुपर्ने स्थानीयको बाध्यता रहेको उनको भनाई छ ।

जनकपुरधाम उपमहानगरपालिकाको सरसफाइ फाँटका प्रमुख उपेन्द्र साहले भने फ्याक्ने स्थान अभावका कारण फोहर संकलन नगरिएको  बताए । उपमहानगरमा हाल फोहोर ब्यवस्थापनका लागि स्वीपर १ सय जना, ड्राइभर ८ जना, ६ वटा ट्याक्टर, ४ वटा टिपर, २ कन्टेनर र २ लोडर राखेको छ। 
 

विशेष