नेपालसँगको समम्ध सुधारमा भारतको सकृयता, चौथाइवाले भेटघाटमा ब्यस्त
भारतले नेपाली भूमि समेटेर आफनो प्रशासनिक नक्सा जारी गरेयता नेपाल–भारत सम्वन्ध चिसियो। यस विषयमा नेपालले तीन पटकसम्म कूटनीतिक नोट पठायो तर, भारतले वास्ता गरेन। यसै क्रममा २०७७ वैशाखमा नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर आफनो नक्सा जारी गर्यो। त्यसपछि त झन नेपाल–भारत सम्वन्ध अझै विग्रिदै गयो ।
चिनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भन्दै भारतले प्रतिक्रिया जनाएपछि दुई देशविचको सम्वन्धमा झनै दरार देखियो । तर, पछिल्लो समय भने भारतले नेपालसँगको सम्बन्ध सुधारलाई प्राथिमकतामा राखेको हो।
दुई महिनायता भारतीय अधिकारीहरुको लगातार नेपाल भ्रमणले भारत नेपालसँगको सम्वध सुधारमा सकृय भएका संकेत देखिएका छन् । सवैभन्दा पहिला भारतीय प्रधानमन्त्रीको दूत बनेर गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आए । कात्तिक ५ गते नेपाल आएका गोयल प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी ६ गते स्वदेश फिर्ता भए ।
गोयल नेपाल आएर फर्किए लगत्तै भारतीय सेना प्रमुख मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा कात्तिक १९ गते काठमाडौं आए। भारतले लिम्पियाधुरासम्म पुग्ने सडक खोलेपछि नरवणेले दिएको अभिव्यक्तिको नेपालका चौतर्फी विरोध भएको थियो। ०७६ फागुनमै भ्रमण तय भए पनि नक्सा विवादका कारण उनी नेपाल आउन पाएका थिएनन्।
नरवणेपछि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला २ दिने भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आए। उनको भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्याका विषयमा केन्द्रीत भयो। श्रृंगला स्वदेश फर्के लगत्तै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । बिहीबार काठमाण्डौं आए लगत्तै चौथाइवालेले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट गरे।
सबैभन्दा पहिले नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको भेट भयो । उनले शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री पौडेल र नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग पनि राजनीतिक भेटवार्ता गरेका छन्।
यो राजनीतिक भेटघाटलाई नेताहरुले अर्थपूर्ण मानेका छन्। भारतीय संस्थापनको प्रतिनिधिका रुपमा नेपाल आएका चौथाइवालेले विगतको तिक्तता भुलेर अघि बढ्नुपर्ने सन्देश नेपाली नेताहरुलाई दिइरहेका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई देश विचको सम्बन्ध सुधारमा देखाएको सकृयतालाई सकारात्मक भन्दै प्रतिक्रिया जनाएका छन् । भारतीय प्रधानमन्त्रीका विशेष दूत सामन्त गोयल र विदेश सचिव हर्षवर्धन श्रृंगलाको भ्रमणले दुई देशबीच पुनः संवादको आधार बनाएको र त्यसपछिका भ्रमण अझ फलदायी हुँदै गएको उनको भनाई छ ।