News

नेपाल–भारत संयुक्त संचालक समितिको आठौं बैठक सम्पन्न

उर्जाको क्षेत्रमा भएका सहकार्यलाई थप मजबुत बनाइने

नेपाल–भारत संयुक्त संचालक समितिको आठौं बैठक सम्पन्न

नेपाल–भारत संयुक्त संचालक समितिको आठौं बैठक आज भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न भएको छ । उर्जा सचिवहरुको अध्यक्षतामा रहने यो समितिको दुई देशका सरकारबीच उर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवम् समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो।

बैठकमा यस क्षेत्रमा भएका द्विपक्षीय पहल तथा प्रयासका प्रगतिबारे समीक्षा गरिएको नेपाल स्थित भारतीय दुतावासले जनाएको छ । दुवै पक्षबीच नेपाली उर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकीङ्गको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे छलफल भएको थियो । यसैगरी, एसजेभिएन लिमिटेडद्वारा प्रर्वद्धित ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगतिको समीक्षा गरी उक्त परियोजनाको कार्यान्वयन द्रूत रुपमा अघि बढाउने सहमति भएको दुतावासले जनाएको छ ।

पछिल्लो समय उर्जाका क्षेत्रमा दुई देशविच समन्वय भईरहेको छ ।  दक्षिण एसियाको पहिलो ४ सय केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर–ढल्केबर विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ भने ४ सय केभी क्षमताको गोरखपुर–बुटवल प्रसारण लाइनको वित्तिय मोडालिटिबारे पनि सहमति भइसकेको छ । यस परियोजनाको निर्माण चाँडै सुरु हुने जनाईएको छ ।

दुतावासद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ–‘यस्तै, ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण उल्लेख्य रुपमा अघि बढेको छ। दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटिलाई छिट्टै अन्तिम रुप दिनेछन्।’

वैठकमा दुवै पक्षले दुई देशबीच उर्जाको क्षेत्रमा भएका सहकार्यलाई थप मजबुत बनाउने लगायत एकीकृत ग्रीडको विकास एवम् विस्तार, आवश्यकता अनुसार थप अन्तरदेशीय विद्युत प्रसारण लाइनको निर्माण, नेपालको जलविद्युत तथा सौर्य उर्जा परियोजनामा लगानी लगायतका प्रतिबद्धता दाहोर्याए। 

वैठकको नेतृत्व भारतका उर्जा सचिव श्री संजीव नन्दन सहाय र नेपालका उर्जा सचिव श्री दिनेश कुमार घिमिरेले गरेका थिए ।
 

विशेष