कांग्रेसको नारा– ‘औषधि छैन मल छैन–सत्ताको लडाइँ, लाज छैन !’
नेपाली कांग्रेसले मंसिर २९ गते हुने देशब्यापी प्रदर्शनमा केन्द्रीय पदाधिकारीलाई प्रतिनिधि खटाएको छ। शीर्ष नेताहरूले देशका मुख्य सहरहरुका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडा, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे र पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषाको प्रदर्शनलाई सम्वोधन गर्ने छन् ।
यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरा, गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाममा हुने कार्यक्रममा सहभागी हुने जनाईएको छ ।
प्रदर्शनका लागि दश वटा नारा तय गरि जिल्ला कार्यसमितिलाई परिपत्र गरिएको छ। ‘चारैतिर भ्रष्टाचार–जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा–नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन–सत्ताको लडाइँ लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार–अकर्मण्य भो ओली सरकार’ लगायतका नारा केन्द्रबाटै तय गरिएका छन्। केन्द्रले तोकेकाबाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइने छैन।
समग्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्ष र सर्वसत्तावादी केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध नारा लगाउने कांग्रेसले जनाएको छ ।
गत फागुन महिनादेखि सार्वजनिक कार्यक्रम नगर्न मातहत निकायलाई निर्देशन दिएको कांग्रेसले कोरोना महामारीबीच प्रदर्शन गर्न लागेको हो ।
गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने बताएको थियो।