संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने
आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । उनले वैठकमा सहभागि हुन नसक्ने भन्दै शनिवार जानकारी गराएको जनाईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेलाई परिषद्को बैठक बोलाएका छन् । देउवा उपस्थित नहुने भएपछि संवैधानिक परिषद्को बैठक प्रभावित हुने सम्भावना वढेको छ । वैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । तर, हालसम्म बैठक स्थगित भएको आधिकारीक जानकारी गराईएको छैन ।
परिषद्को बैठक बोलाएपछि प्रधानमन्त्री ओली र देउवाबीच शुक्रवार भेटवार्ता भएको थियो । उनीहरुविच संवैधानिक निकायमा रिक्त ४५ पदमा नियुक्तिको विषयमा छलफल भएको थियो । तर, सहमति भने जुट्न सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत ४५ पद अहिले रिक्त छन् ।
अर्कोतर्फ मंसिर २९ मा कांग्रेसले सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ। प्रदर्शनको एक दिन अघि प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएपछि त्यसलाई कांग्रेसले शंकाको दृष्टिले हेरेको छ।