गणतन्त्र विरुद्धका चुनौतीको सामना गर्ने क्षमता नेकपामा छः प्रचण्ड
सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र विरुद्धका चुनौतीको सामना गर्ने क्षमता नेकपामा रहेको वताएका छन् । पछिल्लो समय धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक गणतन्त्र ठीक नभएको भन्दै राजतन्त्रको पक्षमा सडक प्रदर्शन भइरहेको अवस्थामा दाहालको यस्तो वताएका हुन् ।
लोकतान्त्रिक गणतन्त्रसामु वेला वखत विभिन्न चुनौती आउने गरेको र तिनको सामना गरेर जाने शक्ति नेकपामा रहेको दाहालले वताए । ‘गणतन्त्र ल्याउन नेकपाले महत्वपूर्ण संघर्ष गरेको छ’ दाहालले भने–‘त्यसविरुद्धका चुनौतको सामना गर्ने क्षमता पनि नेकपामै छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने, फूलाउने, फलाउने तथा देशमा आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा अगाडि वढ्ने उनले वताए ।
कांग्रेसका पूर्वसांसद कौशर शाह तथा राजन झालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन शनिवार आयोजित कार्यक्रममा वोल्दै अध्यक्ष दाहालले पार्टीभित्रको विवाद राजनीतिक मान्यता र पद्धतीका लागि भईरहेको वताए । ‘पार्टी भित्र कस्तो राजनीतिक मान्यता अवलम्बन गर्ने र कस्तो पद्धति स्थापित गर्ने भन्ने विषयमा बहस भइरहेको छ’ उनले भने–‘संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र समाजवाद उन्मुख व्यवस्थामा जाने भनेकाले त्यसै विषयमा नेकपामा बहस भइरहेको हो।’