पुर्व अर्थमन्त्री खतिवडा निजी क्षेत्र बिरोधी !
राजाको शासनकालका उद्योग, वाणिज्य तथा आपूर्ती सहायकमन्त्री राजेशकाजी श्रेष्ठले त्यतिबेलाको योजना आयोगका सदस्य युवराज खतिवडाले पछिल्लो पटक अर्थमन्त्री हुँदा गरेका केही निर्णयको सार्वजनिक रुपमा आलोचना र कटाक्ष गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आज आयोजित पाँचौं महासभाका मुख्य अतिथि अर्थमन्त्री विष्णु पौडेल र अर्का अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुनाउँदै उनले भने ‘यसअघिका अर्थमन्त्रीले मुखले एउटा कुरा गरेपनि व्यवहारले अर्कै गरेको धेरैवटा उदाहरण छ । आफूलाई निजी क्षेत्र मैत्री भनेर नथाक्ने खतिवडाले व्यवहारमा सँधै निजी क्षेत्र बिरोधी काम मात्रै गरे ।’
खतिवडाको निजी क्षेत्र बिरोधी कामको उदाहरण दिँदै श्रेष्ठले भने ‘ल हेर्नुस् त १ उहाँले गठन गरेको राजश्व बोर्डको संरचना कस्तो खालको छ ? निजी क्षेत्रको प्रतिनिधित्व नै छैन । बरु, त्यस्तो निकाय हुनुभन्दा त नहुनु नै बेश ।’ खतिवडाले मन्त्रीबाट हट्नुभन्दा केही दिनअघि मात्र पूर्व सचिव महेश दाहालको अध्यक्षतामा राजश्व बोर्ड गठन गरेका थिए ।
संघको नयाँ कार्य समिति चयनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले बधाई तथा शुभकामना दिए। त्यसअघि अर्थमन्त्री पौडेलले पत्रकारद्वय विकास थापा र लवेश प्याकुरेललाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
संघको महासभाले आगामी दुई वर्षको लागि नयाँ कार्य समिति चयन गरेको छ । जसमा अध्यक्ष मोदनाथ ढकाल, निवर्तमान अध्यक्ष सिताराम भट्टराई, उपाध्यक्षद्वय भुवन आचार्य र मेनुका कार्की, महासचिव नारायण पौडेल, सचिव रोयल आचार्य, सहसचिव अजमत अलि र कोषाध्यक्ष परमेश्वर अधिकारी रहेका छन् । सदस्यहरूमा नवीन ढुंगाना, प्रजिता बुढाथोकी, दीपक भट्ट, रोविन पौडेल, फणीन्द्र दाहाल, गोपाल सुवेदी र दिलु कार्की रहेका छन् ।