News

विवादमा नारायणकाजी : सत्य हो की जालसाझी ?

विवादमा नारायणकाजी : सत्य हो की जालसाझी ?

नेकपा केन्द्रीय सदस्य,पूर्व सांसद तथा पूर्व राजदूत कमानसिंह लामाको निधनलगत्तै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई समेत मुछेर फैलाइएको अफवाहको बारेमा लामाकी श्रीमती इन्द्रमाया तामाङ्ग र याम्बालिङ्ग हाइड्रोपावर प्रा.लि.द्वारा शुक्रबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी यथार्थ कुरो स्पष्ट पारिएको छ ।

वामपन्थी नेता तथा आफ्ना श्रीमान् लामाको निधनलगत्तै शोकमा रहेको आफू र परिवारमाथि लाञ्छना लगाउँदै केही सञ्चारमाध्यममा प्रकाशित र प्रशारित सामाग्रीप्रति तामाङ्गले क्षोभ प्रकट गरेकी छन् ।

उनले सिन्धुपाल्चोक,गुम्बा–५ स्थित याम्बालिङ्ग हाइड्रोपावर श्रीमान,श्रीमती दुबैले संयुक्तरूपमा सञ्चालन गर्नेगरी नेपाल सरकारबाट अनुमति प्राप्त गरेको तर १० वर्षदेखि आफ्नो चलअचल सम्पत्ति,आफन्त र पार्टीका साथीहरूबाट प्राप्त सहयोग र ऋण रकम चुक्ता गर्न अनेकौं प्रयास गरेको बताउँदै विज्ञप्तिमा ‘नियमानुसार विद्युत प्राधिकरणले उक्त परियोजनाको विद्युत उत्पादन अनुमतिपत्र खारेजी प्रक्रिया थालेपछि वामपन्थी आन्दोलनमा लागेको बेलाकी मित्र र जलविद्युतसम्बन्धी अनुभव भएकी सुसन कर्माचार्यलगायतका साथीहरूलाई गरेको अनुरोधबमोजिम उहाँहरूले हामी दुबै जनाको सहमतिमा आफूमा केही सेयर रहनेगरी सबै कानुनी प्रक्रिया पुर्याएर हस्तान्तरण गरिएको’ उल्लेख गरेकी छन् ।

उक्त जलविद्युत परियोजनाको कारण परिवारमा चरम आर्थिक संकट देखिएपछि लामा दम्पत्तिको राजनीतिक,आर्थिक र सामाजिक अवस्था नै धरमराउन थालेपछि सुसनलगायतका मित्रहरूको कम्पनीले आफूहरूलाई राहत र उद्धार पुर्याएको बताउँदै तामाङ्गले लेखेकी छन् – ‘राजनीतिक अभिभावकको नाताले पार्टी प्रवक्ता श्रेष्ठलाई आफूहरू दुबै जनाले सो बारे जानकारी गराएको र उहाँले पनि आफूहरूलाई आर्थिक पारदर्शिता र अनुशासनको बारेमा त्यसबखत नै सम्झाउनु भएको’ थियो । तसर्थ,उक्त विषयलाई दूराशयपूर्ण तवरले जोडेर नेता श्रेष्ठको राजनीतिक निष्ठापूर्ण जीवनमा नै आँच आउने गरी अहिलेको शोकमग्न घडीमा लामा परिवारमा प्रहार गरिनुलाई योजनाबद्ध प्रहारको रूपमा लिइएको छ ।

यसैगरी,हाइड्रोपावरमा रहेको लामा तथा तामाङ्गको सेयर स्वामित्वसँग जोडेर हालै सार्वजनिक भएका अतिरञ्जित समाचारमा कुनै सत्यता नरहेको भन्दै याम्बालिङ्गले समेत स्पष्ट पारेको छ । विज्ञप्तिमा लेखिएको छ ‘कम्पनीसँग कुनै संलग्न नभएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर उहाँको चरित्रहत्या गर्ने उद्देश्यले आएका भ्रामक,कपोलकल्पित एवम् राजनीतिक दुराशययुक्त भावनाले सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण हो । स्व. कमानसिंह लामाले उठाएको विवादलाई उहाँकै अनुरोधमा समाधान गर्ने प्रयासस्वरूप भए गरेको छलफललाई अन्यथा भन्न मिल्दैन ।’

यो सामग्री जन आस्थावाट साभार गरिएको हो।
 

विशेष