खोप खरिदका लागि सिंहदरवारमा छलफल, ‘कोभिसिल्ड’ पहिलो प्राथमिक्ता
सरकारले भारतमा उत्पादन भइरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ नेपालका लागि उपयुक्त हुने भन्दै आपुर्ति ब्यवस्थाका लागि छलफल अघि बढाएको छ ।
सरकारले भारतमा उत्पादन भइरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ नेपालका लागि उपयुक्त हुने भन्दै आपुर्ति ब्यवस्थाका लागि छलफल अघि बढाएको छ ।
यसैक्रममा उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्बन्धित विषयमा शुक्रवार सरोकारवालासँग छलफल गरेका थिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूको सहभागिता थियो । उपप्रधानमन्त्री पोखरेलले खोप ल्याउने सम्बन्धमा भइरहेको प्रगतिबारे जानकारी लिएका थिए ।
छलफलमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीले भारतमा उत्पादन हुने खोप ल्याउन सहज, सस्तो र भण्डारण गर्नसमेत सजिलो हुने जानकारी गराएका छन । भारतीय खोप सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा खोप उत्पादन गरिरहेको छ ।
कोरोना भाइरसविरुद्ध आपत्कालीन प्रयोगका लागि सिरमले सरकारसँग अनुमति माग गरिसकेको छ । ९० प्रतिशतसम्म प्रभावकारिता भएको कोभिसिल्ड खोप २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण र ओसारपसार गर्न सकिने कम्पनीले दाबी गरेको छ । एसआईआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालाले केही खास अवस्थामा ९० प्रतिशत प्रभावकारी देखिएको कोभिसिल्डको १० करोड डोज जनवरीबाट उपलब्ध हुने घोषणा गरेका छन ।
बेलायतले आकस्मिक प्रयोग गर्न अनुमति दिएको फाइजरको खोप भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिने बताइएको छ ।
अरू मुलुकमा बनेको खोप महँगो र भण्डारण गर्न नसकिने भएकाले भारतमा उत्पादन भइरहेको खोप भण्डारण गर्न सकिने र सस्तोमा पाइनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए ।
भारतमा ३ डलरमा उपलब्ध हुने खोप ढुवानी र अन्य प्रक्रिया पूरा गर्दा नेपालमा ७ डलर पर्न सक्ने अनुमान गरिएको छ । सरकारले १० डलरका दरले ५२ प्रतिशत नागरिकलाई खोप किन्नुपर्ने भन्दै ४२ अर्ब बजेट आवश्यक पर्ने आँकलन गरेको छ ।
नेपाल सरकारले औषधि अध्यादेश जारी गरी विश्व स्वास्थ्य संगठन र मान्यता प्राप्त निकाय वा उत्पादन गर्ने सम्बन्धित देशले मान्यता दिएको खोप नेपालमा पनि आकस्मिक रूपमा प्रयोग गर्न अनुमति दिन सकिने व्यवस्था गरेको छ ।