News

वालवालिकालाई सुनका गहना नलगाईदिन प्रहरीको आग्रह

वालवालिकालाई सुनका गहना नलगाईदिन प्रहरीको आग्रह

सुनको गहना लगाएकै कारण  स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई त्यस्ता गरगहना नलगाइदिन अभिभावकसँग आग्रह गरेको छ।

कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङको विद्यालयबाट घर फर्कने क्रममा कानमा लगाएको रु. १० हजार बराबरको सुनको मुन्द्राकै कारण हत्या भएको थियो। उनको गत २१ मंसीरमा हत्या भएपछि यस्ता घटना रोक्न रसुवा प्रहरीले गहना लगाउने वा लगाइदिने कार्य न्यूनीकरण गर्ने अभियान शुरू गरेको छ।
 
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अपराधिक रोक्न  बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान उनीहरूलाई सचेत  गराउने र पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने  वातावरण मिलाउनेजस्ता विषयमा सचेतना अभियान शुरू गरिएको हो।

कोभिड–१९ को समस्या समाधान भएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिए। ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगाइएका  सुन सुरक्षित तवरले नजिकको परिचित आफन्तको साथमा मात्र हिँडडुल गर्न प्रहरीले आग्रह गरेको छ।

ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती  बालिका विद्यालय छुटेर घरतर्फ जाँदै गर्दा अपरिचित व्यक्तिबाट अपहरणमा परेकी थिइन्। उनको कानमा सुनको मुन्द्रा देखेपछि चाउचाउ दिएर फकाइ नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले अपहरण गरेकी थिइन्। उनले गाउँभन्दा अलि पर नागर्दुङ ओढारमा लगि बालिका मारेर स्याउलाले छोपी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बयानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए।
(रासस) 
 

विशेष