टेलीकमले सुरु गर्यो ‘पाठशाला सियुजी सिम’
नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण सुरु गरेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराउन थालेको हो।
सियुजी सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट https//learning.cehrd.edu.np चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन् ।
यी सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ । यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला सियुजी सिमकार्ड लिन सक्नेछन् ।
प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहनुभएमा पहिलेदेखि नै उनीहरुले प्रयोग गरिरहेको प्रिपेड सिमकार्डलाई पनि पाठशाला सियुजीमा आबद्ध गर्न पनि सकिने छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन् ।
विद्यार्थीको लागि सिमकार्ड लिंदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिने छ । निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रीतपूर्वक भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपी वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनु पर्नेछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन् ।
विद्यालयले पाठशाला सियुजीमा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरुको सियुजीमा आबद्ध गर्नुपर्ने मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गरेर सो विवरणसहित स्थानीय तहको सिफारिस साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा अबवद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत जानकारी उपलब्ध हुन्छ ।
पाठशाला सियुजी अफरको अवधि समाप्तिपश्चात पनि यो अफरमा आबद्ध मोबाइल नम्बरहरु प्रयोगकर्ता शिक्षक, विद्यार्थी र अभिभावकले अन्य प्रयोगकर्ताको मोबाइल नम्बर सरह नै निरन्तर प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमका देशभरिका सेवा केन्द्रहरुबाट सार्वजनिक विद्यालयले माग अनुसार निःशुल्क पाठशाला सियुजी सिम लिन सक्नेछन् ।