कोरोना खोपका लागि नेपाललाई ९९ अर्ब दिने दाताको प्रतिवद्धता
कोभिड–१९ विरुद्धको खोप खरिदका लागि विकास साझेदारहरुले ९९ अर्ब रुपैयाँसम्म उपलब्ध गराउने भएका छन् ।
कोभिड–१९ विरुद्धको खोपको सहज र सुलभ आपूर्ति तथा सहज पहुँचका लागि विकास साझेदारहरूबाट ८४ करोड डलरसम्म प्राप्त हुनेछ ।
विश्व बैंक, एसियाली विकास बैंक (एडीबी), युरोपेली महासंघ (ईयू), फिनल्यान्ड, जर्मनी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, जापान अन्तर्राष्ट्रिय सहयोग संस्था, कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था, नर्वे, बेलायत, संयुक्त राष्ट्रसंघ र यूएसएडले संयुक्त रूपमा वक्तब्य जारी गरी यस्तो प्रतिबद्धता जनाएका हुन ।
एडीबीले सहयोगका लागि खोप कोभ्याक्ससँग खरिद गर्नुपर्ने, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको र सम्बन्धित देशको नियामकीय निकायले मान्यता दिएको हुनुपर्ने लगायतका सर्त राखेको छ । यसका अतिरिक्त सम्बन्धित देशले खोपको आवश्यकता आकलन, खोप वितरण योजना तथा विकास साझेदारहरूसँग समन्वयका लागि प्रभावकारी समन्वय संयन्त्रको विकास गरेको हुनुपर्ने र कोभिड–१९ विरुद्धको खोप निष्पक्ष र प्रभावकारी रूपले वितरण हुन सक्ने सुनिश्चितता दिनुपर्ने हुन्छ ।
नेपालले पनि दातृ निकायको सहयोग परिचालन गरी खोपको आपूर्ति सर्वसुलभ गर्ने तयारी सुरु गरिसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । सरकारल ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गरिसकेको छ।
खोपको प्रभावकारी वितरण, आपूर्ति, प्रशासनका लागि यससँग सम्बन्धित क्षमता विकासमा दातृ निकायले जोड दिएका छन् । कोभिड–१९ विरुद्धको खोपका लागि चिस्यान भण्डार शृंखलामा आधारित ढुवानी विधि, चिस्यान सुविधायुक्त सवारीसाधन, वितरण पूर्वाधारका लागि लगानी आवश्यक रहेको आकलन सरकारले गरेको छ ।
विश्वव्यापी रूपमा नै कोरोनाविद्धदको खोपमा सकारात्मक प्रगति भएपछि दातृ निकायहरु खोपका लागि सहयोग गर्न तयार भएका हुन।
अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्ध खोपको आपूर्ति गर्न सरकारले स्रोत व्यवस्थापन गरिरहेको बताएका छन् । सबैलाई भ्याक्सिन उपलब्ध गराउने र कोभिड–१९ बाट सिंगो नेपाली समाजलाई बचाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको उनको भनाइ छ ।
सरकारले नेपालमा खोपको क्लिनिकल ट्रायलका लागि पनि अनुमति दिने भएको छ । मान्यता प्राप्त विकासकर्ताले आवश्यक सर्तहरू पूरा गरी नेपालमा खोपको परीक्षण गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिडका कारण एक वर्षको अवधिमा विश्वभर १६ लाख ११ हजारभन्दा धेरै मानिसहरूको मृत्यु भइसकेको छ ।