कोरम नपुगेपछि प्रधानमन्त्रीले वोलाएको संवैधानिक परिषद्को बैठक स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार विहान ९ वजेका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । कोरम नपुगेर बैठक स्थगित भएको हो।
वैठकका लागि प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष मात्र उपस्थित भएका थिए । बैठकका लागि ६ सदस्यमध्ये ५ जना उपस्थित हुनुपर्ने संवैधानिक परिषद्सम्बन्धी ऐनमा ब्यवस्था छ। उपसभामुख पद रिक्त भएकाले अहिलेको अवस्थामा एक सदस्य मात्रै उपस्थित नभए पनि बैठक स्थगित हुन्छ ।
स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए। विपक्षि दलका नेता शेरवहादुर देउवाले शनिवारै बैठकमा नआउने भनेर जानकारी गराइसकेका थिए। २९ मंसिरमा सरकार विरुद्ध देशव्यापी विरोध प्रदर्शन राखेपछि प्रधानमन्त्रीले परिषदको वैठक वोलाएपछि कांग्रेस शसंकित भएको थियो ।
प्रदर्शनको तयारी गरिरहेका वेला परिषद्को बैठकमा सभापति सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने कांग्रेस नेताहरुको तर्क थियो।
यसअघि पनि कांग्रेस सभापति देउवा परिषदको वैठकमा अनुपस्थित हुँदै आएका छन् । १३ महिनादेखि परिषद्को बैठक वसेको छैन । दलहरूबीच भागवण्डा नमिल्दा बैठक बस्न नसकेको हो । संवैधानिक अंगमा योग्य, क्षमताभन्दा पनि परिषद्का पदाधिकारीहरूको भागबन्डामा आधारित हुने गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायमा ४६ पद रिक्त छन् ।