News

बक्यौता रकम माग्दै उखु किसानले सुरु गरे काठमाडौं केन्द्रित आन्दोलन

बक्यौता रकम माग्दै उखु किसानले सुरु गरे काठमाडौं केन्द्रित आन्दोलन

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । सर्लाहीबाट करिव २५÷३० जना किसान काठमाण्डौ आएका छन्। 

गत वर्ष पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरुले आईतवारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । माईतिघर मण्डलाको आन्दोलनलाई वेवास्ता गरे सिंहदरबार र बालुवाटार घेराउ गर्ने उखु किसानले चेतावनी दिएका छन् ।

सरकारले किसानसँग पटक–पटक वाचा गर्ने तर पुरा नगर्ने गर्दै आएकाले यस पटकको आन्दोलनवाट निकास निकालेर मात्रै फिर्ता हुने उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले वताए ।

यस विषयमा उखु किसानले तिहारअघि उद्योग मन्त्रीलाई भेटेका थिए । मन्त्रीले पैसा दिलाइदिने बाचा गरेका थिए । तर, सम्झौता कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनका लागि काठमाण्डौं आउनु परेको किसानहरुले बताएका छन् ।

सरकारी तथ्यांकअनुसार चार वटा चिनी मिलबाट उखु किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई बुझाउन बाँकी छ । 
 

विशेष