नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलमा यसरी हराउँछ पैसा
जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले नेपाल टेलिकमले पैसा ठगि गरेको आरोप लाग्न थालेपछि त्यसको वारेमा प्रष्टिकरण दिएको छ ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सोमवार प्रेस विज्ञप्ति जारी गरी शुल्कका वारेमा प्रष्टिकरण दिएका हुन । पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३ रुपैयाँ ०७ रेण्टल शुल्क तिर्नुपर्ने र कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा भने यो सर्त लागु नहुने उनले वताएका छन् ।
‘पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको हो, जुन अहिले पनि कायम छ’ विज्ञप्तिमा भनिएको छ–‘यही रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ ।’
पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकका प्रयोगकर्ताको संख्या वृद्धि भइरहेको छ । ग्राहकले प्याक प्रयोग गर्दा यो रेन्टल चार्ज भन्दा छुट्टै रकम काटिन्छ । सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्ज वापतको रकममा खासै ध्यान नगएको पनि देखिएको जोशीले जनाएका छन् ।
सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल हिसाब गरिन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि ३८३ रुपैयाँ ०७ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । यसै कारण ग्राहकहरु ‘पैसा कता हरायो’ भनी झुक्किएको पाइन्छ । कम्पनीको जिएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिङ्ग हुने भएतापनि हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक झुक्किने गरेको उनको भनाई छ ।
‘कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले २ सयको प्याक प्रयोग गरेको छ भने प्याक वापतको २ सय र रेन्टल चार्ज वापतको ३८३ रुपैयाँ ०७ गरी ५८३ रुपैयाँ ०७ तिर्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ–‘मानौ, १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम ४ सय थियो भने सो रकम समेत काटिएर थप १८३ रुपैयाँ ०७ समेत तिर्नुपर्ने हुन्छ ।’
पोस्टपेड ग्राहकको यही अन्यौललाई सम्बोधन गर्नका लागि कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ । पोस्टपेड प्याक लिँदा ग्राहकले रेन्टल चार्जवापतको रकम पनि प्याक खरिदमा उपयोग गर्नसक्ने भएकाले ग्राहक झुक्किने सम्भावना नहुने उनले जनाएका छन् । प्याक प्रयोग गरी कम्पनीको नेटवर्क भित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सकिन्छ । पोस्टपेड प्याक लिनका लागि आफ्नो पोस्टपेड मोबाइलबाटै *1415*2# डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिने विज्ञप्तिमा जनाईएको छ ।
‘पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि *400# डायल गर्न सकिन्छ । सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट भनिन्छ । अभाइलेबल क्रेडिट चाहिँ अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो’ विज्ञप्तिमा भनिएको छ–‘साथै सोही बिल कम्पनीको वेबसाइटमार्फत https://gsmbl.ntc.net.np/ बाट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ । कम्पनीको एपबाट पनि आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड युसेज हिस्ट्रीमार्फत हेर्न सकिन्छ ।’
नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै रेण्टल चार्ज समेत उपयोग गर्न सकिने गरी पोस्टपेड प्याक उपलब्ध भएकाले कम्पनीको जिएसएम पोस्टपेड सेवा थप आकर्षक हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।