प्रधानमन्त्री ज्यू, कहिले चल्छ पानीजहाज ?
प्रधानमन्त्रीको ठूलो सपना रेल र पानीजहाज तर पूर्व तयारीबिना हात हाल्दा नानी पाउनु कहिले, कहिले कोक्रो बुन्नु अहिलेको हाल भैदियो । दुई वर्ष भयो पानीजहाज कार्यालय स्थापना भएको तर त्यो कछुवाकै गतिमा छ ।
०७५ सालमा तामझामसाथ एकान्तकुनामा पानीजहाज कार्यालय खोलियो– ११ कोठे भवनमध्ये आधा चक्रपथ सुधार योजना र बाँकी पानीजहाज कार्यालयले प्रयोग गर्ने गरी । रजिष्ट्रार तोकिए सहसचिव ऋषिराज कोइराला । पानीजहाज चलाउने त भनियो तर पुरानो ऐन बाधक । ०२७ को ऐनअनुसार पानीजहाज दर्ता गर्न मिल्ने भए पनि सञ्चालनमा अवरोध छ ।
संशोधन गर्न खोजिएको ऐनमा पानीजहाज सञ्चालन, नेपाली झण्डा राख्ने र लग बुक, क्रु मेम्बर, सुरक्षाको उपाय, प्रदूषणका कुरा छन् । यी बुँदा समेटेर संशोधनका लागि मस्यौदा मन्त्रालयमा पठाइएको वर्ष दिन भयो, उतै अल्झिरहेको छ । जसरी रेल्वेसम्बन्धी मस्यौदा संसद्को उपल्लो सदनमा अड्कियो ।
बाहिरबाट सिधै पानीजहाज चलाउने प्रयास असफल भएपछि दोस्रो काम इन्टरनल वाटर वे (आन्तरिक जलमार्ग) चलाउने भनियो । ठूला ४ नदी कोशी, कर्णाली, कालीगण्डकी, नारायणीमा सम्भाव्यता अध्ययनको काम टुंगिएर सरकारी प्रक्रिया शुरु भयो । त्यहाँका सूचना अधिकारी इञ्जिनियर राजन प्रधानका अनुसार परामर्शदाताहरु सर्ट लिष्टिङ भइवरी आदेश वितरण भइसकेको अवस्था छ । धमाधम मूल्यांकनको काम चल्दै छ तर यसको मस्यौदा पनि मन्त्रालयकै घर्रामा छ ।
अन्तरदेशीय पानीजहाज चलाउने उद्देश्यअनुरुप नारायणी नदीकेन्द्रित योजना त बनाइएको छ । भारतको गंगा नदीबाट नारायणी नदी हुँदै नेपालसम्म आइपुग्ने गरी पानीजहाज चलाउने तयारी हो । यो पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्म ल्याउने योजना चल्दै छ । ३ मिटर गहिराइ र ६० मिटर चौडाइको नदीमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानीजहाज सञ्चालन गर्न सकिने र पाँच सय टन क्षमताका पानीजहाज नेपाल आउनसक्ने भए पनि शुरुमा तीन सय टन मात्र चलाउन मिल्ने सम्भाव्यता अध्ययन गरिवरी टोली फर्किएको छ । कुरा बजेटमै ठोकिन्छ । जम्मा वार्षिक ७ करोड बजेटबाट कर्मचारीले तलब भत्ता खानु कि पानीजहाज दौडाउनु ?
यस्तै देशभर सञ्चालनमा रहेका काठे डुंगादेखि स्टिमरसम्म दर्ता प्रक्रिया शुरु गर्ने तयारी चल्दै छ । अनुमान छ मुलुकभर यस्ता डुंगाको संख्या ९ हजार हाराहारी छ । अब यी डुंगा एकान्तकुनास्थित पानीजहाज कार्यालयमा दर्ता भएर मात्र चल्न पाउनेछन् ।
सबैभन्दा ठूलो समस्या छ कर्मचारी अभावको । १६ दरबन्दी रहेको पानीजहाजमा १० जना कार्यरत छन् । ०७६ भदौमा रजिष्ट्रार कोइरालाले अवकाश पाएदेखि कोही जान मानिरहेका छैनन् । १५ महिना व्यतित भइसक्यो विपिन राजभण्डारीले निमित्तकै भरमा काम चलाइरहेको । तीन महिनादेखि इरिगेसन र हाइवे इञ्जिनियरको पदपूर्ति हुन सकिरहेको छैन ।
पानीजहाजको काम धिमा गतिमा अघि बढेकै बेला २ असोजमा तामझामसाथ ल्याइएको रेल जनकपुरको इनर्वा स्टेशनमा पालले छोपेर राखिएको छ । जसलाई ५ सुरक्षाकर्मीले पहरा दिएका छन् । त्यहाँको रेल्वे ट्र्याकको १७ हजार थान क्लिप चोरी भएपछि अहिले हाकिमहरूको टाउको दुखाइ शुरु भएको छ ।
यो सामग्री जन आस्थावाट साभार गरिएको हो।