News राजनीति

नेकपाको झगडाले संवैधानिक परिषद्को बैठक अनिश्चित

नेकपाको झगडाले संवैधानिक परिषद्को बैठक अनिश्चित

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक दोस्रो पटक पनि कोरम नपुगेर स्थगित भएको छ। दुई दिनअघिको बैठक स्थगित गर्दै प्रधानमन्त्रीले पुनः मंगलबार बिहान बैठक बोलाएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्वतः स्थगित भएको हो। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने संवैधानिक ब्यवस्था छ ।

मंगलबार विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनामात्रै सहभागी भए। सभामुख अनुपस्थित भएपछि बैठकका लागि आवश्यक गणपूरक संख्या पुग्दैन, जसले गर्दा स्वतः बैठक स्थगित हुन्छ।


प्रधानमन्त्री आजै साँझ ५  वजे पुनः बैठक बोलाएका छन्। बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहित विभिन्न आयोगमा ४५ पद रिक्त छन्।

सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट हुन्। संवैधानिक परिषद बैठकमा सभामुख नजानुको कारण भने नेकपाभित्रको आन्तरिक विवाद रहेको स्रोतहरू बताउँछन्। प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच राजनीतिक टकराव नटुंगिएसम्म संवैधानिक परिषदको बैठकको अनिश्चितता कायमै रहने बताइन्छ।

विशेष