उर्जा क्षेत्रमा नेपालसँग सहकार्य गर्ने विषयमा भारत र बंगलादेश बीच छलफल
नेपाल, बंगलादेश र भारतको बीचमा उर्जा क्षेत्रमा उपक्षेत्रीय सहकार्य गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको बीचमा कुराकानी भएको छ ।
बिहीबार भएको भर्चुअल समिटमा मोदी र हसिनाको बीचमा ‘हरित, स्वच्छ र नवीकरणीय उर्जाका क्षेत्रमा अगाडि बढ्ने’ दुवै देशको प्रतिवद्धता अनुसार नेपाल र भूटानसँग उपक्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने विषयमा उनीहरु विच सहमति भएको हो ।
बंगलादेशले नेपालको उर्जा क्षेत्रमा लगानी गरी जलविद्युत लैजाने योजना बनाएको छ । तर, ग्रिड कनेक्टीभिटीको लागि भारतको भर पर्नुपर्ने अवस्था छ । पानी र उर्जा कनेक्टिभिटीलाई सुदृढ बनाउने सम्बन्धमा समेत कुराकानी भएको छ ।
त्यसैले उर्जाको क्षेत्रमा तीन देशीय संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । नेपालको उर्जा बंगलादेश लैजान सहजीकरण गरिदिन बंगलादेशले भारतलाई आग्रह गरिरहेको छ ।
केही दिन अगाडि भएको नेपाल र भारतका उर्जा सचिवको बैठकमा नेपालले पनि सो विषयमा कुरा उठाएको थियो ।