निषेध होईन नियन्त्रणको नीति लिएर अघि वढ्ने हो : प्रचण्ड
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुहरु निषेधको नभई नियन्त्रणको नीति लिएर अघि वढेको वताएका छन् ।
पार्टी कार्यालय पेरिस डाँडामा शुक्रवार प्रदेश–१ का प्रचण्ड र माधव नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो वताएका हुन् । उनले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध नियन्त्रणको आवश्यक्ता रहेको वताए । ‘हामी निषेध होइन, नियन्त्रण गरेर जाने विधि अनुसार अगाडि बढ्ने हो’–प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत रहेका जगननाथ खतिवडाले भने–‘अध्यक्षको भनाईको सार यहि हो।’
भेलाले प्रधानमन्त्री ओलीबाट विधि, पद्धति र नेकपाको राजनीति स्खलन भइरहेको ठहर गर्दै अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्षसमेत निकालेको खतिवडाले वताए । भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए।
संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवादले नयाँ मोड लिएको थियो। दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको थियो।