उखु किसानलाई भेट्न मन्त्रीको टोली माईतिघरमा
माईतिघरमा आन्दोलनरत उखु किसानलाई भेट्न शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोली पुगेको छ । टोलीमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागि थिए ।
मन्त्री भट्टले उखु किसानका अगुवालाई भेटेर चिनी उद्योगले रकम भुक्नानी दिन सुरु गरेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए ।
श्रीराम सुगर मिलले किसानलाई वितरण गर्न मिल्ने गरी १६ करोड रुपैयाँ जम्मा गरिसकेको र सकेसम्म शनिबार देखिनै रकम वितरण थाल्न राष्ट्रिय वाणिज्य बैकलाई अनुरोध गर्ने मन्त्री भट्टले बताए ।
भोलि शनिबार बैंक खोल्न लगाएर भए पनि किसानको पैसा पठाउने र भोलि नै हात–हातमा पैसा पर्ने जनाएका थिए । नेता पौडेलले भने उखु किसानको साथमा कांग्रेस रहेको बताए ।
मन्त्री त्रिपाठी भने कार्यक्रममा पुग्नासाथ फर्केका थिए ।
मन्त्रीको टोली हिडे लगत्तै किसानहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुको आन्दोलन छैठौ दिन पनि जारी छ । उनीहरुले आइतबारसम्म भुक्तानीको अवस्था हेरेर आन्दोलन अघि बढाउने/नबढाउने निर्णय गर्ने जवाफ दिएका छन् ।