चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन् [भिडियो अन्तरवार्ता]
कोरोनाको वहानामा चीनले सुरु गरेको ब्यापार अवरोधका कारण नेपाली ब्यापारी÷ब्यवसायी आजित छन् । ०७२ सालको भूकम्प पछि सुरु भएको अघोषित नाकावन्दी कोरोना संक्रमणपछि झन कडा पारिएको छ । भुकम्पका वेला चीनसँग सडक मार्ग भएर जोडिने एउटा मात्रै तातोपानी नाका चिनले वन्द गर्यो । भारतले अघोषित रुपमा नाकावन्दी गर्दा पनि सुरक्षा संवेदनशिलता देखाउँदै चीनले तातोपानी नाका खोल्न मानेन। प्रचारवाजीका लागि केरुङ्ग÷रसुवागढि नाका संचालन गर्यो तर जिर्ण सडक र आवश्यक्ता अनुसारको पूर्वाधार नहुँदा ब्यापारी÷ब्यवसायीले सामान आयात–निर्यातमा सधैं हैरानी पाए ।
कोरोनाको संक्रमण सुरु भएपछि रसुवागढि नाका पनि प्रभावित भएको छ । सामान्य अवस्थामा २५/३० वटा कन्टेर आउने रसुवागढि नाकामा अहिले मुस्किलले ५ वटा कन्टेनर आउने गरेका छन्। चीनले कोटा सिस्टममा कन्टेनर जाँचपास गरिरहेको छ। जसका कारण नेपाली ब्यापारीको सामान महिनौदेखि केरुङ्गमा अलपत्र छ। सामान वोेकेका करिव १५ सय कन्टेर केरुङ्गमा महिनौ दिनदेखि अलपत्र परेको गोसाईकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावा दिन्डुप तामाङ्ग वताउँछन् ।
कोरोना संक्रमणका कारण चीनले वन्द गरेको नाका स्थानीय प्रशासन, ब्यापारी र जनप्रतिनिधिहरुको अथक प्रयासपछि संचालनमा आयो । तर, चीनवाटै सामान नपठाउँदा नाका वन्द जस्तै रहेको उनले वताए । ‘वन्द त भन्न मिल्दैन, खुल्ला नै छ। तर एकदमै कम सामान आउँदैछ’ उनले भने–‘दिनमा ५ गाडि सामान आउनु भनेको वन्द जस्तै हो।’ चीनतर्फ निर्यात हुने सामान भने अहिले पनि नखुलेको तामाङ्गले वताए ।
एक वर्षदेखि केरुङ्गमा सामान अड्किएका कारण ब्यापारी÷ब्यवसायी मानसिक रुपमै विक्षिप्त छन् । तनाव सहन नसकेर सिन्धुपाल्चोकका एक जना ब्यापारीले आत्महत्या गरेको उनले सुनाए । ‘ब्यापारीहरु सामान ल्याउन आतुर छन्, तर एक वर्ष भयो सामान ल्याउन सकेको छैन’ उलने भने–‘वैंकले किस्ताको लागि ताकेदा गरेको गरै छ। ब्यवहार धान्नै नसकेपछि मान्छेले कति दिन थेग्न सक्छ ?’
जाँचपास वढाउन र गाडि संख्या वढाएर पठाउन पटक–पटक आग्रह गर्दा पनि चीनियाँ अधिकारीहरुले वेवास्त गर्दै आएको तामाङ्ग वताउँछन्। ‘गाडि संख्या वढाउन र अड्किएर वसेको सामान पठाउन माग गर्दै ब्यापारीहरु दुतावाससम्म डेलीगेसन गए। स्थानीय प्रशासन मार्फत हामीले पनि प्रयास गर्यौ’ उनले थपे–‘तर, अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।’
नाका खोलीसकेपछि ब्यापारीका समस्या सुनुवाई गरिदिए हुन्थ्यो भन्ने लागेपनि त्यसका लागि आफुहरुले केहि गर्न नसकेकोमा उनले पछुतो गरे। ‘चीनले जनप्रतिनिधि भन्दा कर्मचारी र सुरक्षा निकायलाई नै महत्व दिन्छ। आजसम्म हामीले चीनियाँ अधिकारीहरुसँग औपचारीक कुरा गर्न पनि पाएको छैन। सुरक्षा वैठकमा सहभागि हुने सुरक्षा प्रमुखहरु मार्फत हामीले कुरा राख्छौं। त्यो पनि सुनुवाई हुँदैन’– उनले भने।
केरुङ्गमा नेपालीका १२/१५ सय गाडि अड्केको र दैनिक ५ वटा गाडि आउँदा महिनौ लाग्न सक्ने उनको भनाई छ । ‘५ गाडिवाट सुरु भयो, वढ्दै जाला भन्ने आस थियो। तर भएन। त्यस विषयमा वोर्डर वैठकमा हामीले प्रशासन मार्फत कुरा राखेका थियौ’ उनले थपे–‘उनीहरुले कन्टेनर पार्किङ्गका लागि ठाउँ वढाउ भनेका रहेनछन। हामीले त्यो पनि गर्यौ, तर अहिलेसम्म गाडिको संख्या वढेको छैन।’
आफनो सामान ल्याउन दलाललाई घुस
सामान ल्याउन ब्यापारीहरुले अनेक प्रयास गरिरहेका छन् । शारीरिक र मानसिक तनाव वाहेक आर्थिक रुपमा समेत ब्यापारीहरु पीडित भईरहेको उनले जानकारी दिए । केरुङ्गबाट रसुवा गढीमा सामान ढुवानी गर्न नेपाली व्यापारीले प्रति कन्टेनर १० देखि १२ लाख थप रकम तिर्नु परिरहेको छ । जवकी, ती दुई स्थान बीचको दूरी करिब २५ किलोमिटर मात्र छ। यसले व्यापारीको लागत बढाएको छ। उत्तरी नाकामा समस्या देखिएपछि केहि व्यापारी दक्षिणी नाकावाट भारतीय मार्गहुँदै जहाजवाट सामान आयात गर्न थालेका छन् । तर, सानो व्यवसाय भएका ब्यापारीहरुले जहाज मार्फत कन्टेनर आयात गर्न सकेका छैनन् ।
‘नेपालीहरु आफैं सामान लिन जान पाउँदैनन्। एजेन्ट मार्फत सामान आउने हो। एक कन्टेनरको ६० हजार आरएमवीसम्म (नेपाली १०÷११ लाख) घुस लिन्छन्’ उनले तामाङ्गले भने–‘यति पैसा दिने भए गाडि लोड गरेर पठाई दिन्छौं नत्र सकिदैन भनेपछि ब्यापारीहरु वाध्य हुन्छन्। त्यत्रो पैसा तिरेर सामान ल्याए पनि के गर्नु ?’ किनीसकेको सामान ब्यापारीले मायाँ मार्न नसकेर अहिलेको समस्या भोग्नु परेको वताएका उनले आउँदा दिनमा भने रसुवागढि नाका भएर थप सामान आयत हुनेमा शंका उत्पन्न भएको वताए । ‘ब्यापारीहरु एकजुट हुँदैछन्, स्टकमा भएको सामान आईसकेपछि यो नाकावाट ब्यापार नगर्ने उनीहरुको सल्लाह छ’ उनले भने–‘हामीले यो विषयमा पनि स्थानीय प्रशासनलाई जानकारी गराएका छौं।’
सडकमा पार्क गरिएका कन्टेनर नाकासम्म सहज रुपमा ल्याई दिने र आफनै सामान ल्याउन दलाललाई घुस दिनुपर्ने समस्याको समाधान खोज्न उनले सरकारसँग माग गरे ।
ड्रोन मार्फत जासुसी
वडाध्यक्ष तामाङ्गले चीनियाँ सुरक्षाकर्मीले नेपाली भुभागमा ड्रोन उडाएर निगरानी गर्ने गरेको वताए । उनीहरुले नेपालका गतिविधि निगरानी गर्ने र स्थानीय प्रशासनलाई निर्देशन दिने तथा आफनो कब्जामा राख्ने गरेको स्थानीयवासीहरु समेत वताउँछन् । कोरोना संक्रमण पुर्व सिभिल ड्रेसमा सुरक्षाकर्मी नै जासुसीका लागि नेपाली भुमिमा आउने गरेको वताएका उनीहरुले संक्रमणपछि मान्छे आउन छोडेको र ड्रोन मार्फत निगरानी गर्न थालेको वताए । ‘पहिला त विहानै आउने, दिनभरी वस्ने र यताका गतिविधि निगरानी गरेर साँझपख फर्किने चलन थियो’ गुरुङ्ग भन्छन–‘यतिवेला भने उनीहरु आउँछ छोडेका छन्, कहिलेकाहिँ ड्रोन उडेको देखिन्छ।’
हेपाहा प्रवृत्ति
चीनियाँ अधिकारीहरुले नेपालीहरुलाई हेप्ने, दुब्र्यवहार गर्ने र कुटटिप समेत गर्ने गरेका छन् । यो प्रवृत्ति पहिलादेखि नै चलि आएको हो। पास लिएर जाँदा पनि नेपाली नागरिकलाई दुब्र्यवहार गर्ने र हेप्ने गरेको तामाङ्गले सुनाए। सामान्य गल्ति गर्दा पनि नेपाली गाडि चालकलाई कुटिहाल्ने, गाली गर्ने गरिएको उनको भनाई छ।
‘हामी एक पटक केरुङ्ग गएका थियौं। एउटा गाडिले थोरै लेन मिचेछ। त्यो गाडिको चालकलाई थुतेर चाइनिज प्रहरीले वेस्सरी कुटे। चालकको एउटा आँखा फुट्यो’ तीन वर्षअघिको एउटा घट्ना सम्झदै उनले भने –‘हामीले त्यो विषयमा केरुङ्गमै आन्दोलन गर्यौ । उनीहरुले सामान्य माफि मागेर चालकको उपचार गरे र नेपाली १८ लाख जति क्षतीपुर्ति तिरे। चालकलाई कुट्ने अधिकारीको सरुवा भयो ।’ त्यसपछि पनि छिटपुट घटना भईरहेका भएपनि कोरोनापछि भने नेपाली गाडिहरु चीन जानै नपाएकाले त्यो समस्या नरहेको उनले वताए ।
आवत जावतामा पनि चाईनिज नागरिक र नेपाली नागरिकमा धेरै फरक छ । उनीहरु १५ किलोमिटर स्याफ्रुवेसीसम्म निर्वाध आउ–जाउ गर्ने गरेपछि नेपालीहरुलाई भने पास भएर पनि जान नदिने गरेको उनको भनाई छ ।
१५ महिनाअघि सिलान्यास भएको सडक वनाउन सुरु नै भएन
१५ महिनाअघि सिलान्यास भएको चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक निर्माणको काम अहिलेसम्म पनि सुरु भएको छैन।
स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दुई लेनको सडक निर्माण हुन लागेको हो । हाल सञ्चालनमा रहेको स्याफ्रुबेँसी–रसुवागढीसम्मको सडक करिब १७ किलोमिटर छ। यो सिंगल लेनको कच्ची सडक हो । स्तरोन्नतिपछि उक्त सडक कालोपत्रेसहित डबल लेनको हुनेछ । चीन सरकारको पूर्ण सहयोगमा सडकको स्तरोन्नति हुन लागेको हो ।
उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । उक्त सडक निर्माण गर्न १५ महिनाअघि चाइना टिबेत टिएनन्यु कम्पनी लिमिटेडलाई जिम्मा दिइएको थियो । ३९ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम जिम्मा लगाईएको हो । त्यसैअनुरूप सडक निर्माणको सिलान्यास गरिएको थियो ।
जग्गाप्राप्ति, घरटहरा र विद्युतका पोल हटाउन नसक्दा केहि समय काम रोकिएको थियो । त्यसपछि कोरोनाका कारण पुनः काम सुरु हुन सकेको छैन । सडक निर्माणको काम तत्काल सुरु गर्न पनि तामाङ्गले माग गरेका छन् ।
चीनको अघोषित नाकावन्दीका कारण उत्पन्न समस्या र समाधानका लागि भईरहेका पहलका विषयमा गोसाईकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावा दिन्डुप तामाङ्गसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला।
यो पनि
चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध