News राजनीति

नेकपाको सचिवालय वैठक वालुवाटारमा सुरु, धुम्वाराहीमा ‘सुरक्षा थ्रेट’

नेकपाको सचिवालय वैठक वालुवाटारमा सुरु, धुम्वाराहीमा ‘सुरक्षा थ्रेट’

पार्टी कार्यालय धुम्वाराहीमा वस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । गृह मन्त्रालयको सुझाव अनुसार भन्दै ‘सुरक्षा थ्रेट’ देखाएर बैठक बालुवाटार सारिएको थियो । 


महासचिव विष्णु पौडेलले धुम्बाराहीको बैठक बालुवाटारमा सार्न अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए। तर, दाहालले पौडेलेको प्रस्ताव अस्विकार गरेपछि अन्तिम समयमा ‘सुरक्षा खतरा’ भन्दै वैठकको स्थान परिवर्तन गरिएको एक सचिवालय सदस्यले दावी गरे ।

यसअघि शनिबार बसेको सचिवालयले मंगलबारको बैठक धुम्बाराहीमा गर्ने निर्णय गरेको थियो । अन्तिम समयमा आएर धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटार सार्दा सचिवालयका केहि सदस्यहरु भने असन्तुष्ट भएका छन् ।

आजको वैठकमा कार्तिक २८ मा कार्यकारी अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव र मंसिर १३ मा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमाथि छलफल हुने जनाईएको छ । तर, प्रधानमन्त्री ओलीले दाहालको प्रस्ताव सचिवालयमा छलफल गर्न योग्य नभएको भन्दै त्यसको खारेजीको माग गरेका छन् ।

प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा उठाएका विषयबारे आजको बैठकमा दाहालले लिखित रुपमा नै जवाफ दिने सम्भावना रहेको सचिवालयका ती नेताले जानकारी दिए । तर, स्थायी कमिटीमा जाँदा आजको बैठकमा उठेका विषयहरुलाई समेत समेटेर दाहालले पूरक प्रतिवेदन नै पेस गर्ने तयारी गरेका छन् ।

तर, अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्यले दुवै प्रस्तावमाथि सचिवालयमा सामान्य छलफल गरेर मंसिर १८ मा बस्ने स्थायी कमिटीमा लैजाने तयारी गरेका छन् । 
 

विशेष