संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सभामुखको मुद्दा ‘हेर्न नभ्याइने’
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ नहुने भएको छ ।
संवैधानिक इजलासले सभामुख सापकोटा र अध्यादेशविरुद्धका दुवै मुद्दाको पेसी ‘हेर्न नभ्याइने’मा राखेको छ। दुवै मुद्दा सर्वोच्च अदातलका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा थिए।
सरकारले गत मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । सो अध्यादेश खारेजीका लागि वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठी, अधिवक्ताद्वय ओमप्रकाश अर्याल र कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
यसैगरी, काभ्रेका अर्जुन लामाको अपहरण र हत्यामा संलग्न भएको आरोपसहित सापकोटा विरुद्ध मुद्दा दर्ता भएको छ । अर्जुनलाई खाल्डो खन्न लगाएर जिउँदै गाडेको भन्दै उनकी श्रीमती पूर्णिमायाले ०६४ सालमा जाहेरी दिएकी थिइन् ।