स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर
संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहर गर्दै छानविन गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउने निर्णय गरेको छ।
समितिले शुक्रवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेको थियो । समितिको बैठकमा स्वास्थ्यमन्त्री ढकालले ओम्नी समूहलाई राज्यकोषबाट एक पैसा पनि नदिइएको बताएका छन् । ढकालले ओम्नीलाई एक पैसा नदिइएको र ओम्नीको धरौटीसमेत जफत गरी राज्यकोषमा दाखिला गरेको बताएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
आफ्नो नियत खराब नभएको र अनियमितितामा संलग्नलाई कारबाहीका लागि आफुले पनि सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका थिए ।
मन्त्री ढकालले सार्वजनिक खरिदको अनुगमन कार्यालयले स्वास्थ्य सामाग्री खरिदमा औंल्याएको कमजोरीबारे आफूलाई जानकारी नभएको वताएका छन् । महानिर्देशकको क्षेत्राधिकार मिचेको विषय पनि उनले अस्वीकार गरे ।