संसद अधिवेशन तत्काल बोलाउन कांग्रेस र जसपाको माग
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।
बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई पार्टीका शीर्ष नेताहरुबीच भएको छलफलपपछि यस्तो माग गरिएको हो ।
यसैगरी, संसदमा दुवै दलले समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत शीर्ष नेताहरु सहमत भएको जनाईएको छ ।
छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी थिए ।