खुमलटारवाट निस्किएका ओली गृहमन्त्रीलाई भेट्न पुल्चोकमा
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता सकिएको छ ।
पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला शनिबार बिहान दाहाल निवास पुगेका प्रधानमन्त्री ओली करिब साढे एक घण्टाको छलफलपछि त्यहाँबाट बाहिरिएका हुन् । दाहाल र ओलीबीच छलफल भइरहेकै बेला पुगेका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटारवाट निस्किसकेका छन ।
प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिएसँगै मन्त्री क्वार्टर पुल्चोकमा गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका छन् । त्यस्तै भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि पुगेका छन् ।
यसैबीच पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खुमलटार पुगेका छन् । अहिले दाहाल र नेपालबीच छलफल भइरहेको दाहालको सचिवालयले जनाएको छ ।
पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्को गरी नेताहरु दाहाललाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शुक्रबार मात्रै दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवास गएका हुन् ।
गत साता वाग्मती प्रदेशस्तरीय भेला गरेको दाहाल–नेपाल समूहले यो साता प्रदेश १ को भेला आयोजना गरेको हो । उक्त भेलाले एकाधिकार र सर्वसत्तावादविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको थियो । भेलामा नेकपाका अध्यक्ष दाहालले आफूहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका थिए ।
अध्यक्ष दाहाललले आफूहरूले ल्याएको प्रतिवेदनमा प्रवृत्तिगत कुरा मुख्य भएको बताएका थिए । भेला सकिएपछि शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार गएका थिए ।
पार्टीभित्र सहमति खोज्नका लागि स्थायी कमिटी बैठक पर सारिरहेका बेला दुवै समूहले गुटगत गतिविधिलाई जारी राख्दै आफ्नो शक्ति सञ्चयलाई निरन्तरता दिएका छन् ।