News राजनीति

राष्ट्रपति भण्डारीद्वारा संसद् विघटन

राष्ट्रपति भण्डारीद्वारा संसद् विघटन

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।


राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ–‘संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यासबमोजिम संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनतासमक्ष जान मिति २०७८ वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकाले उक्त सिफारिसबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ।’

केही मन्त्रीहरूको प्रतिवादका बाबजुद् प्रधानमन्त्री ओलीले आइतबार बिहानको मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए। 

यसअघि बिहान बालुवाटारमा बसेको बैठक ओली पक्षधर मन्त्री प्रदीप ज्ञवालीसहित मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुषाल र योगेश भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिवाद गरेका थिए। 

विशेष