अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिस भएको छ।
संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको थियो। उक्त नामावली आईतवार संसदमा दर्ता भएको छ ।
यसैगरी, सदस्यमा जयबहादुर चन्द र किशोर सिलवाल सिफारिस भएको श्रोतले जनाएको छ ।
अख्तियारको प्रमुख आयुक्त सिफारिस गरिएका पूर्व गृहसचिव राई प्रधानमन्त्री ओली निकट हुन् भने चन्द कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन । संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने प्रावधान छ ।
राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद् बैठकमा ३ जना उपस्थित भएर २ जनाले सिफारिस गर्ने सक्ने प्रावधान राखिएको थियो । नेकपा स्थायी कमिटीले यो अध्यादेश फिर्ता लिने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका छैनन् ।